उत्तरगया गाउँपालिकाले बनाउन थाल्यो २० वर्षे गुरुयोजना

चैत्र ९, २०७९ |बलराम घिमिरे
उत्तरगया गाउँपालिकाले बनाउन थाल्यो २० वर्षे गुरुयोजना

रसुवा । जिल्लाको उत्तरगया गाउँपालिकाले पालिकाको २० वर्षे गुरुयोजना निर्माण गर्ने भएको छ ।

गाउँपालिकाभित्रको सम्भावनालाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न २० वर्षे गुरुयोजना निर्माण गर्न थालेको हो । स्थानीय सरकारले आफ्नो संस्थागत सुदृढीकरण, समग्र विकास एवं समृद्धिको खाकासहितको दीर्घकालीन योजना निर्माणका लागि गुरुयोजना निर्माणको थालनी गरिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

गुरुयोजना निर्माण गर्न पूर्वतयारी स्वरुप पालिकाले दुईदिने कार्याशाला गोष्ठीसमेत गरेको छ । विज्ञ र सरोकारवाल राखेर मंगलबार र बुधबार पालिकाले गोष्ठी गरेको हो । गाउँपालिकाको भौगोलिक क्षेत्रअनुसार हुँदै गरेको जनससंख्या वृद्धि, सहरीकरण र आर्थिक समृद्धिको सम्भावनाको खोजी गर्दै स्थानीय सरकार सँग उपलब्ध स्रोतसाधन, जनशक्ति र सम्भाव्य लगानीका स्रोतको खोजी गर्दै आगामी २० वर्षसम्ममा समग्र विकास योजनाको तर्जुमा र प्रक्षेपण गर्नु गुरुयोजना निर्माणको मुख्य उद्देश्य छ ।

विकासमा प्रादेशिक सन्तुलन, समावेशिता, प्राकृतिक स्रोत र साधनको संरक्षण, संवर्धन र उपयोग गर्दै मर्यादित काम र रोजगारी सिर्जना गर्न पनि गुरु योजना निर्माण गर्न आवश्यक रहेको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले जनाइन् ।

गुरुयोजनाले दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागु गर्ने नीति लिएको छ । ‘पालिकाको विकास कार्यक्रममा सबै नागरिकले आत्मसात् गर्ने गरी यसका सूचकलाई आधार मानेर स्थानीय तहको योजना निर्माण गरिनेछ,’ उनले भनिन्, ‘पालिकाले गुरुयोजना निर्माण गर्दा दिगो विकास लक्ष्यले निर्दिष्ट गरेबमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्नेछ छ ।’

उत्तरगया गाउँपालिकाभित्रका सम्भावना व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्दै भविष्यका लागि दिगो र समृद्ध विकासका स्पष्ट योजना तयार गर्न गुरुयोजना निर्माण गर्न लागिएको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीले जनाए ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।