हिमपात नहुँदा गण्डकी पूर्वको हिमाली क्षेत्रका किसान चिन्तित (भिडियो रिपोर्ट)

माघ १८, २०७९ |केदार शिवाकोटी|बलराम घिमिरे|राजकुमार कार्की
हिमपात नहुँदा गण्डकी पूर्वको हिमाली क्षेत्रका किसान चिन्तित (भिडियो रिपोर्ट)

दोलखा । मध्य माघ भइसक्यो तर गण्डकी पूर्वको हिमाली क्षेत्रमा हिमपात भएको छैन, न त हिउँदे वर्षा नै भएको छ । विगतमा हिउँले सेताम्मे हुने लेकाली क्षेत्रमा यो हिउँदमा भने पुसबाटै डढेलोको मुस्लो देखिन थालेको छ ।

विगतका वर्षहरुमा दोलखा क्षेत्रका हिमाली डाँडाकाँडा हिउँदमा हिउँ परेर चाँदी झै टलल टल्किन्थे । राजधानी काठमाडौँबाट नजिकै भएकाले कालिञ्चोकलगायतका पर्यटकीय गन्तव्यमा हिउँ पर्ने बित्तिकै आन्तरिक पर्यटकको ओइरो लाग्थ्यो ।

अर्कोतर्फ हिउँकै भरमा खेती गरेर वर्षभरिको खाद्यान्नको जोहो गर्ने हिमाली क्षेत्रका किसान हिउँ पर्ने बित्तिकै खेतीपातीमा जुट्थे । तर मौसममा भइरहेको फेरबदलका कारण हिउँ पग्लेर हिमाल काला भइरहँदा हिमाली जिल्लामा खाद्य सुरक्षाको अवस्था झन् दयनीय हुने त होइन भन्ने त्रास पैदा भएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका कृषक च्याङबा दोर्जे तामाङले वर्षा र हिउँ नपर्दा खेती लगाउन नपाएको गुनासो गरे । उनले भने, साग पनि बिग्रिरहेको छ । आलु रोप्नु पर्ने पानी परेको छैन, हिउँ परेको छैन । पहिला चाहिँ पुस-माघतिर जहिले पनि हिउँ पर्ने गर्थ्यो ।

हिमाल काला भए भने खडेरी लाग्ने संकेतका रुपमा बुझ्नुपर्ने बुढापाकाको भनाइ छ । यतिखेर हिमाल कालामात्र होइन पुसबाटै हिउँले ढाकिने उच्च लेकाली क्षेत्रका डाँडाकाँडामा डढेलो लागेर धुवाँको मुस्लो देखिन्छ ।

चिसो छल्न तलतिर झारेका चौरी गोठ मास्तिरै फर्काउन थालिएको छ । हिउँकै चिस्यानको भरमा यतिखेर आलु रोप्नुपर्ने उच्च लेकाली भेगका किसान निराश छन् । कतिपय किसानले हिउँ पर्ला भन्ने आशमा आलु रोपिसकेका थिए । उम्रिनै नपाई आलु मरेपछि किसानलाई अनिकालको चिन्ता छ ।

हिमाली क्षेत्रका किसान मात्रै होईन हिउँदे वर्षा नहुँदा तल्लो क्षेत्रमा लगाइएको तोरीलगायतको हिउँदे बाली तथा फलफूल खेती प्रभावित बनेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मध्य माघबाटै गर्मी चढ्न थालिसकेको छ । मौसममा भएको फेरबदलले हिउँकै भरमा खेती हुने हिमाली जिल्लाको कृषिचक्रमा परेको प्रभावले खाद्य असुरक्षा बढ्ने संकेत गरेको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।

Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।

Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।