जिप दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

माघ ९, २०७९ |घनश्याम खड्का
जिप दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

म्याग्दी । सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग.१ज ६९३८ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका २, काफलचौरमा दुर्घटना भएको छ । दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका १, कुहुँतर्फ गैरहेको जिप अन्दाजी ११.३० बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा जिपमा सवार मंगला गाउँपालिका १, की ६१ वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो । सख्त घाइते गर्बुजालाई उपचारका लागि सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा सातजना घाइते छन् । दुर्घटनामा सख्त घाइते मंगला गाउँपालिका १ की ३४ वर्षीया सन्तु केसी, उनकी १० वर्षीया छोरी शिवानी र ५ वर्षीय छोरा रिवानलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइते १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीय भमिकला नेपाली र २२ वर्षीया विपना कार्कीको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकेर टायरमा ओट राख्न खोज्दा जिप पछाडि गुडेर सडकमुनि खेतमा खसेको थियो । जिप चालक प्रहरी नियन्त्रणमा छन् । ‘दुर्घटनाग्रस्त जिपका चालक नियन्त्रणमा लिएका छौं । दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढकालले कान्तिपुरलाई जानकारी दिए ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement