गुल्जार सिलगढी किन बन्यो सुनसान ? (भिडियो रिपोर्ट)

माघ ८, २०७९ |मोहन शाही
गुल्जार सिलगढी किन बन्यो सुनसान ? (भिडियो रिपोर्ट)

डोटी । व्यापारिक तथा प्रशासनिक कामका लागि सुदूर र कर्णाली प्रदेशका बासिन्दाको आवतजावतले भरिभराउ रहने डोटीको सिलगढी बजार अहिले सुनसान छ । नेपालको कान्छी सहरका रूपमा चिनिने सिलगढी बजारमा व्यापार व्यवसाय खस्किएपछि स्थानीयले धमाधम बसाइँसराई गर्ने क्रम बढेको छ ।

काठमाडौं झै नेवार समुदायले चलाएको व्यापार व्यवसायका कारण सिलगढी बजार क्षेत्र नेपालको कान्छी सहरको रुपमा परिचित थियो । तर अहिले मानिसहरुको बसाइँसराई बढ्दा अधिकांश घरहरु खाली छन् भने कतिपय घरका ढोकामा ताला झुण्डिएका छन् ।

स्थानीय खगेन्द्र नेपालले विगतलाई सम्झिँदै भने, ‘उनदेखि सुनसम्म, कस्मिरा-उनीको कपडाहरु पाइन्थ्यो । ८०-९० वटा पसल मेरै उमेरमा देखेको आज चाहिँ तीन/चार वटा मात्रै पसल छन् । अरु सबै बन्द छन् ।’

चिटिक्क मिलेका पुराना घरहरुमा बुढापाखा मात्र भेटिन्छन् । सिलगढीमा छाएको सन्नाटा देखेर बाहिरबाट आउनेहरु आश्चर्य व्यक्त गर्दछन् ।

३६ हजार ९ सय जनसंख्या रहेको दिपायल सिलगढी नगरपालिकामा ६७ जनामात्र भित्रिएकोमा गत आर्थिक वर्ष ०७८/०७९ मा ५ सय २४ जना बसाइँ सरेर बाहिरिएका छन् ।

‘पञ्चायत कालमा यो क्षेत्रीय सदरमुकाम थियो । त्यसले पनि यसको चार्मिङ बढाएको थियो । अहिले त्यो पनि नभइकन प्रदेश राजधानी डोटीबाट कैलाली सरिसकेपछि यहाँको चहलपहल कम हुनुको मुख्य कारण हो ।’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले भने ।

राणा शासन कालमा स्थापना गरिएका नेपालका ४ मध्ये सिलगढी एक मुख्य गौणा हो । पहिलोपटक २००४ सालमा पद्म पब्लिक मावि, २०१९ सालमा उच्च शिक्षाका लागि डोटी बहुमुखी क्याम्पस खुलेको थियो ।

शिक्षाका लागि समेत विद्यार्थीहरुको ओइरो लाग्ने सिलगढीमा अहिले चाप निकै पातलिएको छ । विभिन्न राजनीतिक परिवर्तन संगसंगै सिलगढीले विकासको काँचुली फेर्न नसक्दा बसाइँसराइ तीव्र बढेको हो । सिलगढी बजारलाई पुनः गुल्जार बनाउन जनप्रतिनिधिहरुले बेलैमा सोच्न जरुरी छ । 


Image

मोहन शाही

शाही कान्तिपुर टीभीका डोटी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement