पाल्पा । रूरू क्षेत्रमा माघे संक्रान्ति मेला सुरु भएको छ । तीन दिनसम्म लाग्ने पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू रिडी क्षेत्रमा दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ ।
मकर संक्रान्ति नुहाउँन र ऋषिकेशवमा दर्शन गर्न रूरू क्षेत्रमा देशको विभिन्न क्षेत्रका साथै भारतबाटसमेत दर्शनार्थी आउने गर्छन् ।
मुक्तिनाथ क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीमा स्नान गर्ने र पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरूको रूरू क्षेत्रमा भीड लागेको हो । रूरू धाममा स्नान र रूरू कन्याको दर्शन गर्दा पाप मोक्ष हुने जनविश्वास छ ।
मणिमुकुन्द सेनले नदीमा स्नान गर्दा ऋषिकेशवको साक्षात् मुर्ति फेला पारेको र सोही मुर्तिलाई प्रतिस्थापन गरेको किवंदन्ती छ ।
प्रचारप्रसारको कमी र भौतिक पूर्वाधार निर्माण हुन नसक्दा यस क्षेत्रमा धार्मिक पर्यटनको उल्लेख्य विकास भने हुन सकेको छैन ।