रसुवा । झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।
कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार हिजो करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ।
बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ ।
कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।