काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि सार्वजनिक गरेको छ ।
यसअघि औपचारिक क्षेत्रका श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ कार्यान्वयनमा रही आएकोमा कोषले आफ्नो कार्यक्षेत्र विस्तार गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरूका लागि उक्त कार्यविधि ल्याएको हो ।
सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ र वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सार्वजनिक गरेका हुन् ।
यस कार्यविधिका आधारमा अनौपचारिक क्षेत्रका श्रमिकहरू सरकारले तोकेकी न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७% रकम अर्थात् कम्तीमा १ हजार ९ सय १२ रूपैयाँ मासिक रूपमा कोषमा योगदान गरी विभिन्न योजनाहरूमा सहभागी हुन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेका तथा विदेशमा स्वरोजगार नागरिकले न्यूनतम पारिश्रमिकको २१.३३% रकम अर्थात् न्यूनतम २ हजार रूपैयाँ मासिक रूपमा र बढीमा त्यसको २ गुणासम्म योगदान गरी कोषद्वारा सन्चालित सेवा सुविधामा सहभागी हुन सक्नेछन् ।
कोषले नियमित योगदानकर्ताहरूलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरूसमेत संचालनमा ल्याएको छ ।
अनौपचारिक र स्वरोजगार क्षेत्रको उक्त कार्यविधि आगामी वैशाख १ गतेबाट र वैदेशिक क्षेत्रको कार्यविधि स्वीकृत भएको मितिले ९० औ दिनबाट प्रारम्भ हुने छ । कार्यविधिहरू कोषको वेबसाइट ssf.gov.np बाट हेर्न सकिन्छ ।