फेसबुक र ट्विटरमा महिलामाथि घृणाको बाढी

मंसिर १५, २०७९ |श्रृजना बास्तोला
फेसबुक र ट्विटरमा महिलामाथि घृणाको बाढी

नेपालमा महिला राजनीतिज्ञविरुद्ध सामाजिक सञ्जालमा खेदो खन्ने क्रम बढेको एक अध्ययनको निष्कर्ष छ। 

२०७९ को स्थानीय तह निर्वाचनका २६ जना महिला उमेद्वारहरुको फेसबुक तथा ट्विटर निगरानी गरिएको थियो। त्यसमा उनीहरुलाई हतोत्साहित बनाउने प्रतिक्रियाहरु सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका थिए। त्यस्ता प्रतिक्रियामध्ये लगभग ५९ प्रतिशत भनाइहरु अपमानजनक तथा घृणायुक्त थिए। पानस साउथ एसियाले यो अध्ययन गरेको हो।

त्यस्तै २० दशमलव ५ प्रतिशत उनीहरुको क्षमताको अवमूल्यन गर्ने खालका थिए भने १० दशमलव ३ प्रतिशत यौनिक तथा शारीरिक धम्की दिनेखालका थिए। यसैगरी ६ दशमलव ६ प्रतिशत प्रतिक्रिया लज्जित बनाउने तथा इज्जतमा प्रश्न उठाउने खालका थिए।

राजनीतिमा अग्रसर महिलालाई उनीहरुको चरित्र माथि नकारात्मक टिप्पणी गर्ने, पार्टीका नेताहरुसँग यौन सम्पर्क राखेर अवसर लिएको आरोप लगाउने, कसैसँग नाम जोडेर 'त्यसकी कान्छी' लगायतका लज्जितपूर्ण अविव्यक्तिहरु भेटिएको अध्यनले बताएको छ। यससँगै उनीहरुलाई बलात्कार गर्नेसम्मका धम्कीहरु भेटिएको अध्ययनले देखाएको छ।

सामाजिक सञ्जालमा जोडजाड पारिएका सम्पादित तस्बिर र भिडियो सामाग्रीहरुले पनि महिलालाई बदनाम गर्ने गरिएको अध्ययनमा देखाइएको छ। सञ्चार माध्यममा बाइलाइन बिनाका गलत अर्थ दिने लेख र समाचारहरु प्रकाशन भएको उल्लेख गरिएको छ।

महिलाको सफलताका कारण उनीहरुको शक्तिशाली साथी वा नातेदारलाई देखाउने खालका प्रतिक्रिया पनि उत्तिकै भेटिएका छन्।

चार महिना लगाएर गरिएको यस अध्ययनले १ सय ४८ फेसबुक पेज जसमध्ये २३ राजनीतिकर्मी, ४ राजनैतिक दलका आधिकारिक पेज , २४ प्रभावशाली व्यक्तिका पेज, जसमा २६ सयदेखि १२ लाख बढी फलोअर भएका पेजको निगरानी गरेको थियो। त्यसमध्ये पनि प्रत्यक्ष निर्वाचनतर्फ २६ महिला उमेद्वारहको सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुको निगरानी गरेको थियो।

अध्ययन अनुसार ट्विटरमा थोरै फलोअर्स भएका आफ्नो बारेमा धेरै जानकारी नराख्नेहरु, फेसबुकमा प्रोफाइल फोटो तथा कभर फोटो नभएका, नामसमेत यथार्थ नराखिएका एकाउन्टहरुले सामाजिक सञ्जालमा आएर स्त्रिद्धेषपूर्ण अभिव्यक्तिहरु दिने गरेको भेटिएको छ। झन राजनीतिमा भर्खरै प्रवेश गरेको र अन्य पेशाबाट राजनीतिमा आएका महिलामाथि धेरै घृणास्पद अभिव्यक्ति आउने गरेको देखिएको छ।

एक महिनाको अध्यनको नतिजा अनुसार ११ हजार ६२ फेसबुक कमेन्ट निगरानी गर्दा ८ सय २५ वटा कमेन्ट नकारात्मक पाइएको छ । १६ सय ९ फेसबुक पोष्टमध्ये ११ पोष्ट, राजनीतिकर्मीविरुद्ध घृणास्पद अभिव्यक्तिसँग जोडिएका छन् । त्यसैगरी ३ सय ३४ ट्विटमध्ये १६ वटा ट्विट त्यस्ता देखिएका छन् । १२ सय २५ ट्विटका रिप्लाई मध्ये १ सय ५४ वटा रिप्लाई महिला राजनीतिकर्मीतर्फ द्वेषपूर्ण भेटिएका छन्। 


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।