राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच भागबन्डा, एमाले एक्लियो

पुस १९, २०७८
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच भागबन्डा, एमाले एक्लियो

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम टुंगो लगाउन थालेका छन् । गठबन्धनमा रहेका पाँच दलले भागबण्डाका आधारमा र प्रमुख प्रतिपक्षी एमालेले एक्लै उम्मेदवार तय गरेका छन् । आगामी फागुनमा २० सदस्यको पदावधि सकिने भएकाले नयाँ सदस्य चयन गर्न निर्वाचन गर्न लागिएको हो ।

माघ १२ गने हुने निर्वाचनका लागि मंगलबार निर्वाचन आयोगमा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस आफ्नो भागमा परेका ६ उम्मेद्वारको टुङ्गो लगाएको छ । सत्ता गठबन्धनका अन्य दलले पनि भागबण्डा अनुसार उम्मेद्वारको टुङ्गो लगाएर मंङ्गलबार मनोयन दर्ता गर्ने तयारी गरेका छन् । गठबन्‍धन दलहरुबीच भएको भागबण्डाअनुसार कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सिटमा उम्मेदवार उठाउने छन् । 

यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि राष्ट्रियसभाको चुनावमा प्रतिष्प्रर्धा गर्ने उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । सातै प्रदेशको क्लष्टरअनुसार एमालेले  उम्मेदवार टुंगो लगाएको हो । प्रतिनिधिसभा विघटन र नेकपा विभाजनपछि ठूलो पार्टी भएर पनि किनारामा परेको एमालेले राष्ट्रियसभाको चुनावमा पाँच दलीय गठबन्धनसँग चुनाव लड्दै छ । स्वतन्त्र सांसद र सरकारको विपक्षमा रहेका दलहरुसँग समीकरण मिलाउन नसके एमालेलाई एकाध ठाउँबाहेक चुनाव कठीन हुने छ ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि अगामी फागुनमा सकिँदैछ । पदावधि सकिनेमा एमालेका ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४/४ जना छन् । एक जना पदाधिकारी भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने भएकाले १९ सिटका लागि चुनाव हुन लागेको हो । राष्ट्रियसभा एक स्थायी सदन हो । प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि सकिने व्यवस्था संविधानले गरेकोमा नेपालको संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रर्था द्वारा एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ बर्षे कार्यकाल रहने व्यवस्था छ । यसै अनुरुप गोलाप्रथाबाट ४ बर्षे समयावधिमा परेका २० जना सांसदको पदावधि आगामी फागुनमा सकिँदै छ । रित्त हुने पदका लागि मंगलबार दलहरूले मनोयन दर्ता गर्दै छन् । प्रदेशसभाका सदस्य, नगरपालिका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको फरक-फरक मतभारद्वारा राष्ट्रियसभा सदस्य चयन हुन्छन् ।