शंका र सम्पत्तिको लोभले परिवारभित्रै जघन्य अपराधका घटना बढ्दो

श्रावण २३, २०७९
शंका र सम्पत्तिको लोभले परिवारभित्रै जघन्य अपराधका घटना बढ्दो

परिवार र आफन्तबाटै असुरक्षित हुने कल्पना कसले गर्छ र ? त्यसमा पनि श्रीमान, श्रीमती र छोराछोरीको सुरक्षा अभिभावकको पहिलो दायित्व हुन्छ । तर आपसी बेमेल र मनमुटाव चर्किँदा परिवार नै सखाप पार्ने प्रवृति बढ्दो छ। केही वर्षयता सामाजिक रुपमा निकै डरलाग्दा घटना र दृष्यहरु देखिन थालेका छन्।

गत साता बाँके कोहलपुरमा कृष्ण कडरिया र उनकी श्रीमती अञ्जलीको हत्या भयो । आफ्नै घरमा मृत भेटिएका दुबैको हत्या अरु कसैले नभै सम्पत्ति हत्याउने लोभमा सहोदर दाइले गरेको आरोपमा विजयकुमार कडरिया पक्राउ परे । 

काठमाडौंको तारकेश्वरमा यसै महिना एकै परिवारका चार जना मृत भेटिए । प्रहरीको अनुसन्धानले दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफुले आत्महत्या गरेको निष्कर्ष निकाल्यो । कारण थियो पारिवारिक बेमेल । 

परिवार भित्रको कलह र स्वार्थले कसरी अपराध निम्त्याउँछ र जीवन नै सिध्याउँछ भन्ने यी पछिल्ला घटना हुन् । सम्पत्ति र पारिवारिक असझदारीका कारण घरभित्रै जन्मिएको अपराधिक योजना आत्महत्यासम्मै पुग्ने प्रवृतिले अनुसन्धान गर्ने बाटो समेत हुने गरेको छ । 

दुइ वर्ष अघि भक्तपुरमा सहकारीको ऋृण तिर्न नसकेर सुदीप अधिकारीले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका थिए। तीन वर्षअघि पाँचथरको मिक्लाजुङमा श्रीमतीसँगको झगडाकै कारण मानबहादुर लिम्बुले एकै परिवारका ९ जनाको हत्या गरेर आफैंले आत्माहत्या गरेको घटनाले पनि घरायसी समस्या र विवाद कसरी सामाजिक अपराधका रुपमा मौलाएको छ भन्ने देखाउँछ। 

पछिल्लो चार वर्षमा २५ सय जनाको हत्या हुँदा ८० प्रतिशत आफन्तभित्रै भएको प्रहरीको अनुसन्धानले देखाएको छ । अपराधको यस्तो श्रृंखलाले के संकेत गर्छ त ? 

घर भित्रैका समस्या समयमा समाधान गर्न नसक्दा परिवार नै सिद्याउने तहसम्मका घटना  हुने गरेको देखिन्छ । त्यसैले तनाव र आक्रोश कम गर्न मनोपरामर्शदेखि घरमा मिल्न नसकेका विषयको कानुनी उपचार खोज्ने तर्फ सचेत हुनुपर्ने देखिन्छ ।