धनगढी उपमहानगरमा चुनावी प्रतिष्ठा

वैशाख ३१, २०७९
धनगढी उपमहानगरमा चुनावी प्रतिष्ठा

प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढीले धार्मिक सांस्कृति पर्यटकीय र खेल पर्यटनको सम्भावनालाई भरपुर उपयोग गर्न सकेको छैन । हरेक चुनावमा आकर्षण र प्रतिष्ठाको बिषय बन्ने गरेको धनगढी उपमहानगरपालिकामा महानगरका न्युनतम पूर्वाधार र सेवा सुविधा समेत छैन । 

२०७२ सालमा नगरपालिकाको स्तरोन्नती भई उप-महानगरपालिका वनेको धनगढी सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो । २६१ दशमलब ७५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको धनगढी उपहानगरको दक्षिणी भाग भारतको उत्तरप्रदेश राज्यसंग जोडिएको छ ।  झण्डै २ लाख जनसंख्या रहेको धनगढीले वाषिर्क पौने २ अर्व वजेट परिचालन गर्दै आएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएको भएपनि अस्थाइ राजधानी धनगढीमै छ । प्रदेशको प्रमुख व्यापारीक केन्द्र पनि हो धनगढी । प्रदेशमा रहेका नौ वटा जिल्ला मध्ये ७ जिल्ला पहाडमा छन् । ति मध्ये ५ जिल्लासंग धनगढी विमानस्थलवाट उडान हुने गरेको छ । पहाडी सात जिल्लावाट झरेका र तराइमै रहेका आदीवासी राना थारुको यो क्षेत्रमा वसोवास छ ।  १९ वडा रहेको उपहानगरमा यसपटक ९३ हजार १ सय ५१ मतदाता छन् । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा भने ७३ हजार ४ सय ३० मतदाता थिए ।

व्यवस्थित शहरी विकासको योजनाका रुपमा यसअघिको स्थानीय तह निर्वाचनमा निर्वाचित नेतृत्वले स्मार्ट सिटीको योजना बनाए पनि हरेक वर्ष उपमहानगरका अधिकांश वडाहरु डुबानग्रस्त हुने गरेका छन् ।  शिक्षा, स्वास्थ्यका क्षेत्रमा नागरिकले आफ्नो दैनिक जीवनमा महसुस गर्ने खालका कार्यक्रमहरु धनगढीमा संचालन हुन सकेका छैनन् । रोजगारी र सीप अभिवृद्धिका लागि भनी संचालित महिला र युवालक्षित तालिमका कार्यक्रमहरु बजेट सक्ने कार्यक्रम मात्रै भएका छन् जसबाट उपमहानगरवासीले उल्लेखनीय लाभ लिन सकेका छैनन् । धनगढीमा विजयी हुने नेतृत्वका लागि धार्मिक सांस्कृति पर्यटन र खेल पर्यटनको संभावनालाई उपयोग गर्ने प्रमुख चुनौती हुनेछ ।