युद्धविराम पहलकै बीच रुसदवारा युक्रेनमाथि भीषण आक्रमण

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
युद्धविराम पहलकै बीच रुसदवारा युक्रेनमाथि भीषण आक्रमण

काठमाडौं । रुस-युक्रेन युद्धविरामका लागि कूटनीतिक पहल भइरहेका बेला रुसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा ५ सय ७४ ड्रोन र ४० वटा क्षेप्यास्त्र प्रहार गरेको हो । यो आक्रमण हालसम्मकै ठूलो भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । आक्रमणबाट युक्रेनको पश्चिमी शहर लिभिभमा एक जनाको मृत्यु भएको छ भने ट्रान्स-कार्पाथियाको मुकाचेभो शहरमा अमेरिकी इलेक्ट्रोनिक्स कम्पनीमा क्रुज मिसाइल प्रहार हुँदा १५ जना घाइते भएका छन्। युक्रेनी वायुसेनाले रुसले प्रहार गरेका ड्रोन तथा क्षेप्यास्त्रमध्ये ५ सय ७७ वटा खसालिएको दाबी गरेको छ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तटस्थ युरोपेली मुलुकमा वार्ता गर्न तयार भएको बताउनुभएको छ । स्विजरल्याण्ड वा अष्ट्रियाको सम्भावना रहेको उल्लेख गर्दै उहाँले इस्तानबुल तय भए पनि आपत्ति नहुने बताउनु भएको छ । तर रुसले अझै पनि 'सार्थक वार्ता गर्न नचाहेको संकेत देखिएको' उहाँको भनाइ छ । युक्रेनले पनि रुसको रोस्तोभ क्षेत्रमा रहेको एउटा तेल प्रशोधन उद्योगमा आक्रमण गरेको दाबी गरेको छ। साथै, रुसी नियन्त्रणमा रहेको दोनेत्स्क शहरस्थित ड्रोन गोदामसहित अन्य सैन्य तथा पूर्वाधार संरचनाहरूमा पनि प्रहार गरिएको युक्रेनको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.