काठमाडौं । प्यालेस्टिनी समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा सहमति जनाएको छ ।
प्यालेस्टिनी समूहको एक स्रोतले उक्त सहमतिको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजिप्ट र कतारद्वारा राखिएको यो प्रस्ताव गत जुनमा अमेरिकी दूत स्टिभ विटकफले दिएको प्रस्तावमा आधारित भएको बताइएको छ ।
यस योजना अनुसार पहिलो ६० दिनको युद्धविराम लागू हुनेछ । यसपछि हमाससँग रहेका ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गरिनेछ । यीमध्ये २० जना जीवितै रहेको बताइएको छ ।
त्यसपछि थप युद्धविरामको वार्ता अगाडि बढाइनेछ । यद्यपि यस विषयमा इजरायलका तर्फबाट कुनै आधिकारिक धारणा आइसकेको छैन । गत साता इजारायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकलाई रिहा गरेपछि मात्र आफूहरू कुनै सम्झौताका लागि तयार हुने बताउनु भएको थियो ।