काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं विश्वविद्यालय र भारतीय नीति आयोगद्वारा आज नयाँदिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानीमध्ये सबैभन्दा धेरै भारतकै रहेको उल्लेख गर्दै थप लगानी विस्तारका लागि आग्रह गर्नुभएको हो । मन्त्री राणाले अहिले नेपालमा राजनीतिक स्थिरता हुनुका साथै लगानीमैत्री वातावरणमा सुधार आएकाले लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।
मन्त्री राणाले भारतका उद्यमीहरूलाई ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी गर्न आह्वान गर्नुभयो । नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने पनि उहाँको भनाइ छ ।
नेपालले विदेशी लगानी आकर्षणका लागि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको र स्वदेशी तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीतिहरू लागु गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल–भारत सम्बन्धलाई केवल आर्थिकमात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा उहाँको जोड थियो ।