गाजामा युद्धविराम गर्न इजरायल तयार रहेको अमेरिकाको दाबी

६० दिने युद्धविराम प्रस्तावप्रति हमास पनि लचिलो
३० भन्दा बढी इजरायली बन्धक रिहाइको प्रस्ताव
मंसिर २८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा युद्धविराम गर्न इजरायल तयार रहेको अमेरिकाको दाबी

काठमाडौं । अमेरिकाले इजरायल हमाससँग युद्धविराम गर्न तयार रहेको दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग जेरुसेलममा भेटवार्ता गरेपछि इजरायल हमाससँग युद्धविराम गर्न तयार रहेको विश्वास व्यक्त गर्नुभएको हो ।

हमास पनि आफ्नो अडानबाट पछि हट्दै युद्धविरामप्रति लचिलो भएको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । युद्धविरामपछि गाजामा इजरायली सेनाको अस्थायी उपस्थितिको विषयमा हमासले सहमति जनाउन सक्ने बताइएको छ । 

यद्यपि हमासले अहिलेसम्म यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन । सुलिभानले लेबनान र इजरायलबीचको युद्धविरामले गाजा युद्धविराम वार्ताको अवरोध हटाएको बताउनुभएको छ । 

साथै हमासले पुनः सुरु हुने वार्तामा लचिलोपन देखाएको विश्वास व्यक्त गर्दै उहाँले इजरायल र हमास युद्धविरामनजिक पुग्ने सम्भावना देखापरेको बताउनुभएको छ ।

युद्धविराम ६० दिन अवधिको हुने प्रस्ताव गरिएको बताइएको छ । यस अवधिमा हमासले प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा ३० भन्दा बढी इजरायली बन्धकहरूलाई रिहा गर्ने विषय उल्लेख छ । साथै इजरायलले गाजामा थप मानवीय सहायता प्रवेश गर्न अनुमति दिने विषय पनि समावेश छ । 

यसअघि, हमासले गाजाबाट इजरायलको पूर्ण फिर्ताका साथै स्थायी युद्धविराममा जोड दिँदै आएको थियो । विगतमा कतार, इजिप्ट र अमेरिकाले मध्यस्थता प्रयास गरे पनि स्थायी युद्धविरामको अडानका कारण असफल भएपछि इजरायल–प्यालेस्टिनी द्वन्द्व एक वर्षभन्दा बढी समयदेखि जारी छ ।

गत नोभेम्बर २७ मा हिजबुल्लाह र इजरायलबीचको युद्धविरामपछि हमासका अधिकारीले युद्ध रोक्न इच्छुक रहे पनि इजरायली पक्षबाट अवरोध रहेको बताएका थिए



Enter Kantipur TV HD
Advertisement