लरेन्स विस्नोई समूहले लियो महाराष्ट्रका पूर्वमन्त्री सिद्दिकीको हत्याको जिम्मेवारी, दुई जना पक्राउ

आश्विन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लरेन्स विस्नोई समूहले लियो महाराष्ट्रका पूर्वमन्त्री सिद्दिकीको हत्याको जिम्मेवारी, दुई जना पक्राउ

काठमाडौं । भारतको महाराष्ट्र राज्यका पूर्वमन्त्री तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लरेन्स विस्नोइ समूहले लिएको छ ।

सिद्दीकीको गएराति मुम्बइको बान्द्रा इष्टमा गोली हानी हत्या भएको थियो । लरेन्स विस्नोई समूहले सामाजिक सञ्जालमार्फत बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सिद्दिकीको पार्थिव शरीर उहाँको निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उहाँको आजै राति मुम्बईको मरिन ड्राइभस्थित कब्रिस्तानमा अन्तिम संस्कार गरिने भएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले बाबा सिद्दिकीको अन्तिम संस्कार राजकीय सम्मानका साथ हुने घोषणा गर्नुभएको छ । उहाँले शान्ति सुरक्षा कायम गरी अपराधीविरुद्ध कडा कदम चाल्न प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ । 

प्रहरीले सिद्दिकीको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई गिरफ्तार गरेको छ । घटनामा संलग्न भनिएका अर्का एक व्यक्तिको खोजी भइरहेको छ ।

आक्रमणकारीहरुले सिद्दिकीमाथि ६ राउण्ड गोली प्रहार गरेका थिए । उहाँको छाती र पेटमा गरी चार गोली लागेको थियो । घटना लगत्तै ६६ वर्षीय सिद्दिकीलाई लिलावती अस्पताल लगिएको थियो । तर चिकिक्सकले मृत घोषणा गरेका थिए । घटनामा सिद्दीकीका एक जना सहायकलाई गोली लागेको छ ।

बान्द्रा वेष्टबाट तीन पटक विधानसभा सदस्य निर्वाचित सिद्दिकी ४८ वर्षसम्म कांग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो । गत फेब्रुअरीमा उहाँ कांग्रेस त्यागेर अजित पवारको एनसीपीमा सामेल हुनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement