भारतको महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या

दुई आक्रमणकारी प्रहरीको नियन्त्रणमा, एक जना फरार
आश्विन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या

काठमाडौं । भारतको महाराष्ट्र राज्यका पूर्व मन्त्री तथा एनसीपी नेता बाबा सिद्दिकीको गएराती मुम्बईको बान्द्रा इष्टमा खुलेआम गोली हानी हत्या गरिएको छ ।

आक्रमणकारीहरुले गएराति करीब साढे नौ बजे सिद्दिकीमाथि उहाँको छोराको कार्यालय नजिकै ६ राउण्ड गोली प्रहार गरेको भारतीय समाचारमाध्यमले जनाएका छन् । सिद्दिकीका छोरा जिशान मुम्बई विधानसभाका सदस्य हुनुहुन्छ । प्रहरीले आक्रमणमा संलग्न तीन जनामध्ये दुई जना लाई गिरफतार गरिएको र एक जना फरार रहेको जनाइएकोछ ।

पेसेवर अपराधीलाई रकम दिएर यो घटना गराइएको प्रहरीले आशंका गरेको छ । घटना लगत्तै ६६ वर्षीय सिद्दिकीलाई लिलावती अस्पताल लगिएको र उनको छाती र पेटमा गरी चार गोली लागेको बताइएको छ । उनका एक जना सहायक पनि गोलीकाण्डमा घाइते भएको जनाइएको छ ।

महाराष्ट्र विधानसभाको निर्वाचनको केही महिनाअघि र विजया दशमीको दिन पारेरै गरिएको हत्याले विभिन्न आशंकालाई जन्म दिएको भारतीय समाचारमाध्यमले टिप्पणी गरेका छन् । घटनाको जानकारी पाए लगत्तै उपमुख्यमन्त्री तथा गृहमन्त्री देवेन्द्र फडनविस अस्पताल पुग्नु भएको थियो भने अभिनेता सलमान खान र संजय दत्त पनि अस्पताल पुग्नु भएको थियो ।

बान्द्रा वेष्टबाट तीन पटक विधानसभा सदस्य निर्वाचित भएका सिद्दिकी कंग्रेस पार्टीसँगको ४८ वर्ष लामो आवद्धता त्यागेर यसै वर्षको फेब्रुअरीमा अजित पवारको एनसीपीमा सामेल हुनु भएको थियो । सिद्दिकी आफ्नो राजनीतिक सुझबुझका लागि मात्र नभई विलाशी पार्टी आयोजनाका लागि पनि चिनिनु हुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement