परमाणु बम प्रयोग रोक्ने प्रयास कति सम्भव ?

आश्विन २६, २०८१ |प्रभात सिंह
परमाणु बम प्रयोग रोक्ने प्रयास कति सम्भव ?

काठमाडौं । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक बम विष्फोटमा बाँचेकाहरुको एक समूह निहोन हिदान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ । 

सन् १९५६ मा स्थापना भएको उक्त समूहले विश्वभर आणविक हतियार निषेधमा गरेको योगदानस्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरियो । उक्त समूहले गरेको मिहिनेतले एक पटक पुनः अशन्त बनेको विश्वमा फेरि आणविक हतियार प्रयोग हुने अवस्था नआउला त ? जापानले भोग्नुपरेको दर्दनाक अवस्था नदोहोरिएला त ?

सेप्टेम्बर १, १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्दा दोस्रो विश्वयुद्ध सुरु भयो । आक्रमणको प्रतिक्रियामा ग्रेट ब्रिटेन र फ्रान्सले सेप्टेम्बर ३ मा जर्मनीविरुद्ध युद्ध छेडे । जर्मनीले जुन २२, १९४१ सोभियत संघमाथि धावा बोल्यो । 

त्यसलगत्तै प्रशान्त क्षेत्रमा युद्ध सुरु भयो । त्यसबेला जापान अत्यधिक बलियो थियो । उसले अमेरिकाको पर्ल हार्बरमा अमेरिकी नौसेना आधार र एशियाभरि अन्य अमेरिकी, डच, र ब्रिटिश सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्‍यो । पर्ल हार्बरमा आक्रमणपछि अमेरिकाले जापानसँग विनाशर्त युद्ध अन्त्य गर्न पहल गरेपनि जापानले मानेन । पर्ल हार्बरको प्रत्याक्रमणमा अमेरिकाले जापानमाथि भीषण परमाणु आक्रमण गर्ने निर्णय गर्यो ।

सन् १९४५ अगस्ट ६, बिहान करिब सबा ८ बजे अमेरिकाको बी २९ बम्बर जहाजले जापानको हिरोसीमामा ‘लिटिल ब्वाय’ नामक परमाणु बम खसाल्यो । उक्त हमलामा करिब १ लाख ४० हजार आमनागरिकको मृत्यु भएको थियो । बम खसेको केहीबेरमै उक्त शहर खरानीमा परिणत भयो ।

त्यसको तीन दिनपछि, ९ अगस्टमा अमेरिकाले नागासाकीमा ‘फ्याट म्यान’ नाम गरेको परमाणु हमला गर्‍यो । उक्त आक्रमणमा ७४ हजार मानिस मारिए । पहिलो आक्रमणबाट उठि नसकेको जापानलाई दोस्रो आक्रमणले थिल्थिलो पार्‍यो ।

बमबारीलगत्तै जापानले १५ अगस्त १९४५ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भयो । अमेरिकाले त्यसबेला जापानमा बमको वर्षा नै गरेको थियो । त्यतिबेला नपड्किएका बम अहिलसम्म नै विस्फोट हुने गरेको हालैको घटनाले पुष्टि गरेको छ ।

अमेरिकी हमलामा भाग्यले बाचेकाहरुले देखेको दर्दनाक दृश्यलाई विश्वसामू ल्याउने प्रयाससँगै विश्वमा आणविक हतियार निषेध अभियान चलाउन जापानमा निहोन हिदानक्यो नामक समूह गठन गरे । उक्त संस्थाले जापानमा भएको आणविक हमलाबाट बचेकाहरूलाई अनुभव सुनाउन विश्वभर पठाउँछ ।

समूहले विश्वभरका मानिसहरूलाई आणविक हतियारले निम्त्याउन भयानक विनाश र पीडाबारे बताउनका साथै विश्वलाई अणविक हतियारमुक्त गर्न खबरदारी गर्दैआएको छ । अहिले विश्व फेरि क्षेत्रीय द्वन्द्वमा फसेको छ । यसले पूर्ण युद्धको रुप लिने त्रास पनि छ । रुसले युक्रेनमाथि झन्डै साढे दुई वर्षदेखि आक्रमण जारी छ । मध्यपूर्वमा त्यस्तै अवस्था छ ।

सन् १९४५ मा जापानमाथि भएको दर्दनाक हदसा पुनः नदोहारियोस् भनेर उक्त समूह निरन्तर विश्व भर खबरदारी गरिरहेको छ । समूहको सह-संस्थापक तोसीयुकी मीमाकीले नोबेल शान्ति पुरस्कारले आफूहरुलाई आणविक हतियारलाई पूर्णरुपले निषेध गर्न अवसर प्राप्त भएको बताउनुभएको छ । यसले पुनः अशान्त देखिएको विश्वमा आणविक हतियार प्रयोगमा नआउने र यसका लागि हरसम्भव प्रयास हुने विश्वास लिइएको छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement