काठमाडौं । इजरायली सेनाले विगत २४ घण्टामा गाजाभर गरेको हवाइ आक्रमणमा ४९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये ३० जनाको मृत्यु उत्तरी भागस्थित जाबालिया क्षेत्रमा इजरायली आक्रमणबाट भएको मन्त्रालयले जनाएको छ । मृत्यु हनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।
आक्रमणमा २ सय १९ जना घाइते भएका छन् भने थुप्रै व्यक्ति भग्नावशेषमुनि दबिएको आशंका गरिएको मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
भग्नावशेषमुनि दबिएका व्यक्तिहरुको उद्धारकार्य जारी रहेको अझै थुप्रै व्यक्ति फसेको मन्त्रायललाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
त्यस्तै, जाबालिया क्षेत्रमा अधिकांश प्यालेस्टिनीहरु शरणार्थी शिविरमा आश्रय लिइरहेका छन् । इजरायली आक्रमणका कारण उक्त शिविरमा हजारौं मानिस फसेको बताइएको छ ।
मन्त्रालयले आक्रमणका कारण जबलिया शरणार्थी शिविरको कमल अडवान अस्पतालमा सघन उपचार इकाई–आईसीयूका लागि इन्धन ‘तत्काल’ उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।
गत साता, इजरायली सेनाले जबलिया क्षेत्रलाई घेरेको घोषणा गरेका थियो । इजरायलले गाजामा ८० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त पारेको छ ।