मोहम्मद युनुस : नोबेल पुरस्कार विजेतादेखि बंगलादेशको सरकार प्रमुखसम्म

श्रावण २३, २०८१ |हरहरि उपाध्याय
 मोहम्मद युनुस : नोबेल पुरस्कार विजेतादेखि बंगलादेशको सरकार प्रमुखसम्म

काठमाडौं । बंगलादेशमा १५ वर्ष शासन गर्नुभएकी शेख हसिना वाजेदको अप्रत्याशित र नाटकीय बहिर्गमनपछि नोबेल पुरस्कार विजेता प्रोफेसर डाक्टर मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । उपचारका लागि पेरिसमा रहनुभएका युनुसले उक्त जिम्मेवारी स्वीकार गरे पनि अझै शपथ भने लिइसक्नु भएको छैन । मंगलबार राति अबेर राष्ट्रपति शहाबुदि्दनले विभेदविरोधी विद्यार्थी आन्दोलनका प्रतिनिधि र सेनालगायत तीन वटै सुरक्षा निकायका प्रमुखसँगको वार्तापछि युनुसलाई अन्तरिम सरकारको प्रमुख अर्थात प्रमुख सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय लिनु भएको हो । संकटको यस्तो समयमा यति महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने मोहम्मद युनुस को हुनुहुन्छ ?

सन् १९४० को जुनमा बंगलादेशको चिटगोंगमा जन्मनु भएका ८४ वर्षीय मोहम्मद युनुस बंगलादेशका ख्यातिप्राप्त अर्थशास्त्री, बैंकर, उद्योगी र नागरिक समाजका अगुवा हुनुहुन्छ । उहाँले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ । विश्व समुदायले युनुसलाई गरीबहरुलाई लघुउद्यम सुरु गर्न बिनाधितो ऋण दिने ग्रामीण बैंकको अवधारणाका प्रवर्तक र संस्थापकका रुपमा चिन्ने गर्दछ । उहाँ लघुवित्त र लघु ऋणको अवधारणाका प्रवर्तक हुनुहुन्छ । युनुसलाई अन्तर्राष्ट्रिय रुपमा गरिबको बैंकर भनेर पनि चिनिने गरिन्छ ।

सन् १९८३ मा युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गर्नुभएको थियो । त्यही सफलताबाट प्रेरित भएर विश्वका अन्य थुप्रै देशमा ग्रामीण बैंक स्थापना गरिएको मानिन्छ । अति विपन्नले पनि आफनो विकासका लागि आफैं काम गर्न सक्छन् भन्ने कुरा लघुवित्त र लघुऋणको अवधारणामार्फत् स्थापित गरेको भन्दै युनुस र उहाँको ग्रामीण बैंकलाई सन् २००६मा नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । यसका अतिरिक्त उहाँले देश-विदेशमा अन्य थुप्रै पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

तर निवर्तमान प्रधानमन्त्री शेख हसिनाले भने युनुसमाथि चर्को ब्याज दरमा ऋण दिएर गरिबको रगत चुस्ने गरेको आरोप लगाउने गर्नुभएको थियो । २००८ को आम निर्वाचनअघि राजनीतिक पार्टी स्थापना गर्ने प्रयास असफल भएपछि युनुस र हसिनाबीच तिक्तता सुरु भएको जनाइएको छ । सन् २०११ मा सरकार नियन्त्रित केन्द्रीय बैंकले अवकाशका लागि निर्धारित उमेर हदभन्दा बढी समय पदमा रहेको भन्दै युनुसलाई गाम्रीण बैंकको प्रबन्ध निर्देशकबाट हटाएको थियो । त्यसपछिका वर्षमा उहाँविरुद्ध करछली, मानहानी लगायतका आरोपमा थुप्रै मुद्दा चलाइयो ।

यसैवर्षको जनवरीमा बंगलादेशको एक अदालतले उहाँलाई श्रम कानुनको उल्लंघन गरेको भन्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । यस्तै जुन महिनामा उहाँविरुद्ध करिब २० लाख अमेरिकी डलरको घोटाला गरेको आरोपमा मुद्दा चलाइएको थियो । हसिनाको सरकारले युनुसविरुद्धको कारबाही राजनीति प्रेरित नभएकोमा जोड दिए पनि युनुसले भने आफूविरुद्ध प्रतिशोध साँधिएको बताउँदै आउनु भएको थियो । युनुस हसिनाको कट्टर विरोधी हुनुहुन्थ्यो भने गत जुन महिनामै रोयटर्सलाई दिएको अन्तर्वार्तामा उहाँले बंगलादेश एकदलीय राज्यमा परिणत भएको र सत्तारुढ दलले अन्य सबै दललाई प्रतिष्पर्धाबाट वञ्चित गराएको आरोप लगाउनु भएको थियो ।

गरिबको उत्थानमा विशेष योगदान पुर्‍याएको भन्दै प्रशंसा कमाएका युनुसका लागि बंगलादेशलाई अहिलेको राजनीतिक संकटबाट पार लगाउनु भने निकै चुनौतीपूर्ण हुनेछ । उहाँको पहिलो चुनौती देशमा शान्तिसुरक्षा पुनरस्थापित गर्नुहुनेछ । यसैगरी बंगलादेशका जनतामा प्रहरी प्रशासन, न्यायालय र राज्यका अन्य संयन्त्रप्रति रहेको अविश्वासलाई हटाउनु उहाँको दोस्रो चुनौती हुनेछ ।

यस्तै आरक्षणविरोधी आन्दोलनमा मारिएका करिब चार सय जनालाई न्याय दिलाउनु र दमनकारीलाई कानुनको दायरामा ल्याउने चुनौती पनि रहनेछ । सबैभन्दा महत्वपूर्ण काम देशमा स्वतन्त्र र निष्पक्ष चुनावको मिति घोषणा गर्नु र जननिर्वाचित सरकारलाई सत्ता सुम्पनु हुनेछ । सेना, विपक्षी राजनीतिक दल र आन्दोलनकारी विद्यार्थीको विश्वास जितेर कार्य गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्दै अघि बढनु युनुसका लागि अर्को चुनौती हुनेछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेझैं अन्तरिम सरकारले कुनै पनि निर्णय गर्दा लोकतान्त्रिक सिद्धान्तको सम्मानका साथै विधिको शासन र जनताको चाहनाको प्रतिविम्बित हुने ढङ्गले कार्य गर्नुपर्नेछ । जनता सन्तुष्ट भएनन् भने अर्को आन्दोलन नहोला भन्न सकिन्न ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement