स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादवका ५ चुनौती

फाल्गुन २७, २०८० |कृपाल गौतम
स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादवका ५ चुनौती

काठमाडौं । जनता समाजवादी पार्टी-जसपाका अध्यक्ष उपेन्द्र यादव ४ वर्ष ३ महिनापछि पुनः स्वास्थ्य मन्त्रालयको नेतृत्वमा फर्किएका छन् । २०७५ जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री नियुक्त भएका यादव अहिले सोही हैसियतमा मन्त्रालय प्रवेश गरेका हुन् ।

हरेक नयाँ मन्त्रीले पद सम्हाल्नेबित्तिकै नागरिकले सहज रुपमा सेवा पाउने प्रतिबद्धता जनाउने गरेका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले आइतबार त्यही परम्परा निर्वाह गरे पनि । तर, नागरिकले अझै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । के छन् त नयाँ स्वास्थ्यमन्त्रीका चुनौती ?

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालहरुमा लाइन बस्नुपर्ने र शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गरी स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने बताएका छन् । तर प्रतिबद्धता गरेजस्तो उनको ट्रयाक रेकर्ड भने राम्रो छैन । २०७५ जेठमा स्वास्थ्यमन्त्री भएका उपेन्द्र यादव डेंगीलगायत रोग नियन्त्रणमा भन्दा विदेश सयरमा व्यस्त भएको भन्दै आलोचित भएका थिए । २०७६ मंसिरमा कानुन मन्त्रालय सारिएका उनी ४ वर्ष ३ महिनापछि पुनः स्वास्थ्यमै फर्किएका छन् ।

यादवले स्वास्थ्यमा पहुँच बढाउने दाबी गरिरहँदा उनले यहाँ भित्रको समस्या बुझेको भान हुन्छ । किनकि यही नै अहिलेका लागि उनको पहिलो चुनौती हो ।

स्वास्थ्य सेवामा सहज पहुँच बढाउन सरकारले ७५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो, तर, अझै पूर्ण कार्यान्वयन हुन सकेको छैन । दुई वर्षभित्र सक्ने लक्ष्य राखेर २०७७ सालमा सुरु गरिए पनि अहिलेसम्म जम्मा २७ वटाको मात्र निर्माण सकिएको छ । साधारण उपचार सेवाका लागि पनि नागरिक संघीय राजधानी काठमाडौंसम्म धाउन बाध्य छन् ।

दोस्रो चुनौती : सरकारी अस्पतालको सुदृढीकरण ।

सरकारी अस्पतालहरुको सेवा सुधार अहिलेको अर्को प्रमुख चुनौती हो । आर्थिक अभाव तथा कर्मचारी कटौतीका कारण देशकै जेठो वीर अस्पतालमा आईसीयूदेखि इमरजेन्सीसम्मका सेवा कटौती भइरहेका छन् भने ९६० शय्यामध्ये ६ सय पनि सञ्चालनमा छैनन् । जनशक्ति तथा उपकरण अभाव देशका हरेक सरकारी अस्पतालका साझा समस्या हुन् । जसका कारण उपचारका लागि लामो लाइन त छँदै छ, शल्यक्रियाका लागि पनि लामो समय पर्खन बिरामी बाध्य छन् ।

तेस्रो चुनौती : खरिदमा देखिएको समस्या अन्त्य गर्ने ।

स्वास्थ्य सामग्री खरिदको विषय जहिले पनि विवादित हुँदै आइरहेको छ । उपकरण तथा औजार खरिदमा सुरुदेखि नै हुने सेटिङ र भ्रष्टाचारको विषय अख्तियारसम्म पुगेका छन् । यसको जालो तोड्ने प्रमुख चुनौती स्वास्थ्यमन्त्रीसामु छ ।

चौथो चुनौती : सही व्यक्ति सही स्थानमा पठाउने ।

स्वास्थ्य मन्त्रालय तथा यसअन्तर्गतका निकायहरुको जिम्मेवारीमा सही व्यक्ति सही स्थानमा छैनन् । सरुवा रोगमा बालबालिकाका चिकित्सक छन् भने खरिदमा हड्डीका । जसका कारण सही र गुणस्तीय सेवा प्रवाहमा समेत समस्या देखिँदै आइरहेको छ ।

पाँचौ चुनौती : राजनीतिक हस्तक्षेप

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि स्वास्थ्य मन्त्रालय र यसअन्तर्गत निकायमा ठाडो राजनीतिक हस्तक्षेप हुँदै आइरहेको छ । सरकार फेरिएसँगै बिमा बोर्ड, अस्पताल र विभागहरुमा आफ्नो मान्छे ल्याउने प्रतिस्पर्धा नै चल्छ । अहिलेका मन्त्रीले फेरि यस्तै गल्ती दोहोर्‍याए स्वास्थ्य क्षेत्रको सुधार कागजमा मात्रै सीमित हुने स्वास्थ्य सेवा विभागका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको भनाइ छ ।

लामो समयदेखि चिकित्सकको दरबन्दी थपिएको छैन भने दक्ष जनशक्ति पलायन हुने क्रम जारी छ । यस्ता दर्जनौं समस्या, जसलाई समाधान गर्नुपर्ने चुनौती नयाँ स्वास्थ्यमन्त्री उपेन्द्र यादवसामु छ । हामीले केही दिनअघि प्रस्तुत गरेको पछिल्ला केही स्वास्थ्यमन्त्रीहरुको ट्रयाक रेकर्ड हेर्दा या त उनीहरु राजनीतिक तानातानमा छोटो समय मन्त्रालयमा बसेका छन् या कुनै न कुनै काण्डमा जोडिएका छन् ।

अब नवनियुक्त मन्त्री उपेन्द्र यादवसँग यही चुनौती छ । राजनीतिक तानातानमा समय व्यतित गरेर जाने, सामान खरिद तथा आसेपासे र कार्यकर्ता नियुक्ति काण्ड मच्चाउने वा जनहितमा काम गरेर दीर्घकालीन सकारात्मक छाप छोडेर जाने ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।