चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ हबको रूपमा विकास हुँदै गएको बताएका छन् ।
आज चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र नभइ स्वदेश तथा विदेशका सेवाग्राहीको समेत उपचारको केन्द्र बन्दै गएको बताए ।
भरतपुर आँखा अस्पतालमा नेपालका साथै भारतबाट समेत उल्लेख्यमात्रामा सेवाग्राही आउने गरेका छन् । १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्मित अस्पताल हाताभित्र बालरोग बहिरंग सेवाका साथै बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष रहेका छन् ।
यसका साथै अस्पतालले स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षसमेत सञ्चालनमा ल्याएको छ ।