.png&w=1000&height=550)
दाङ । चैत ६ र ७ गते भएको बेमौसमी वर्षाका कारण दाङमा ८ करोडको इँटा नष्ट भएको छ ।
जिल्लाका ३० इँटा उद्योगमा १ करोड ५० लाखभन्दा बढी तयारी अवस्थाको कच्ची इँटा पानीले नोक्सान बनाएपछि उद्योगीहरू मारमा परेका छन् भने ठुलो वर्षा भएपछि जमिन चिसो भएका कारण इँटा उद्योगमा काम गर्ने तीन हजार मजदुरको काम रोकिएको छ ।
दुई दिनसम्म भएको बेमौसमी वर्षाले दाङका इँटा उद्योगहरूमा ठूलो क्षति पुर्याएको छ । उत्पादनको तयारी अवस्थामा रहेका कााचो इँटा पानीले भिजेर माटोमा परिणत हुँदा उद्योगीहरूलाई ठूलो आर्थिक मार परेको छ। घोराही उपमहानगरपालिका-१६ मा रहेको जलजला फिक्स चिम्नी इँटा उद्योगमा मात्रै करिब ६ लाख इँटा नोक्सान भएको छ भने २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
काँचो इँटा सुकाउने क्रममा रहेको बेला वर्ष भएपछि सबै इँटा माटोमा परिणत भयो यसले उद्योगीलाई उठ्नै नसक्ने गरी चोट दिएको छ। बेमौसमी वर्षा र अस्थिर मौसमका कारण इँटा उद्योग क्षेत्र थप जोखिममा पर्दै गएको व्यवसायीहरूको भनाइ छ। खुला आकाश मुनी गर्ने व्यवसाय र करोडौँका लगानी भएको इटा उद्योगमा उद्योगीहरूले बिमाका लागि पटक पटक अनुरोध गरे पनि बिमा हुन नसक्दा आफूहरू मारमा परेको दाङ देउखुरी इँटा व्यवसायी समितिको भनाइ छ।
घोराही-१७ मा रहेको मनकामना इँटा उद्योग, घोराही ८ मा रहेको ॐ फिक्स चिम्नी इँटा उद्योग, शुभम इँटा उद्योगलगायत दाङ क्षेत्रका २२ र देउखुरी क्षेत्रका ८ गरी ३० उद्योगमा ३ हजारभन्दा बढी मजदुरहरूले काम गर्दै आएका थिए । वर्षा ठूलो भएको र जमिन अति नै भिजेपछि अहिले ती उद्योगमा काम गर्ने मजदुर पनि काम नभएर खाली बस्नु परेको र खर्च भने बढिरहेको मजदुरहरू भनाइ छ।
उद्योगीहरूका अनुसार काँचो इँटा तयार पारेर सुकाउने क्रममा खुला ठाउँमा राखिने भएकाले बेमौसमी वर्षाले सबैभन्दा बढी असर पार्ने गर्दछ। उत्पादनकै संवेदनशील चरणमा भएको यस्तो क्षतिले उद्योगीहरूको लगानी डुब्ने जोखिम बढाएको छ।