‘नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो’

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो’

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप-महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा आइतबार भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उहाँले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताउनुभयो ।

नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताउनुभयो । “बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन्, उनीहरू सरकार बनाउँछौँ, प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेका छन्”, उहाँले भन्नुभयो, “उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।”

नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.