‘उखु किसानले बर्सेनि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’

भाद्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘उखु किसानले बर्सेनि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’

काठमाडौं । मधेश प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान र बक्यौता रकम भुक्तानी गर्न माग गर्दै सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरूले सोमबार माईतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रूपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरूले उखुको मुल्य प्रतिक्वीन्टल एक हजार रूपैयाँ पुर्‍याउनुपर्ने माग अगाडी सारेका छन् ।

प्रदर्शनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनरत बलारा नगरपालिका सर्लाहीका नगरप्रमुख रामा शंकर प्रसाद कुशवाहाले उखु किसानहरूले बर्सेनि अनुदान पाउन तथा मूल्य निर्धारणको लागि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्न माग गर्नुभयो । उहाँले किसानले उत्पादन गरेका कुनै पनि वस्तुको मूल्य निर्धारण सरकारले एक्लौटी गर्न नपाउने बताउनु भयो ।

उखुको किसानको अनुदान यथाशिघ्र भुक्तानी गर्न तथा किसानको सहभागितामा उखुको मूल्य निर्धारण गर्न उहाँले माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.