डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्या हल गर्छौं : मन्त्री अधिकारी

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्या हल गर्छौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरू हल गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । सहकारीहरूलाई व्यवस्थित रूपले परिचालन गर्नको लागि हाल सहकारी विभाग सक्रिय रूपले लागेको उहाँले जानकारी दिनुभयो । 

विभागले विभिन्न निर्देशन गर्ने, हिनामिना गर्नेहरूको सम्पती रोक्का राख्ने लगायतका काम गरिरहेको उहाँले बताउनु भयो । सहकारसँग आवद्ध दुई वटा केन्द्रिय निकायहरू नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी महासंघलाई पनि गाउँसम्म पुगेर सहकारीको डाटा संकलन गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । सहकारीहरूको वास्तविक तथ्याङ्क संकलन गरी बिग्रेको सहकारीहरूलाई नियमन गरेर जाने उहाँले बताउनु भयो ।

मन्त्री अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीका ६ हजार ७ सय व्यक्तिहरूको रकम पुर्ण भुक्तानी गरिसकेको जानकारी दिनुभयो । ५६ हजार व्यक्तिहरूको आंशिक भुक्तानी गरेको र ४ हजारभन्दा बढीको हिसाब मिलान र नगद भुक्तानी गरिसकेको उहाँले बताउनु भयो । 

एक वर्षको अवधिमा भएको यो काम महत्वपूर्ण उपलब्धि रहेको उहाँको दाबी छ । समस्याग्रस्त सहकारीहरूको सम्पती रोक्का राखेर, रोक्का राखेको सम्पत्तिलाई परिचालन गरी प्रक्रिया मिलाएर, बैंकमा धितो भएकोलाई बैकबाट मिलाएर पुँजी ल्याउँदा एक-डेढ वर्ष लाग्ने उहाँको भनाइ छ । 

समस्याग्रस्त घोषणा गरेका २४ वटा सहकारीहमध्ये ३ वटाको राफसाफ भएको उहाँले जानकारी दिनुभयो । यस्तै २ वटा सहकारीको राफसाफ हुने क्रममा रहेको उहाँको भनाइ छ । 

४ लाख रूपैयाँ हिसाब मिलान गर्न बाँकी रहेकोले ती दुई सहकारीको पनि छिट्टै हिसाब राफसाफ हुने उहाँले बताउनु भयो । उहाँले यो वर्षभित्रमा अरु ५/७ वटाको राफसाफ गर्ने र अर्को वर्षमा समस्याग्रस्त घोषणा गरिएका सबै सहकारीको समस्या समधान गर्ने जानकारी दिनुभयो ।

उहाँले सहकारीहरूको समस्या अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गर्ने जानकारी दिनुभयो । प्राधिकरण स्वायत्त निकाय भएकोले यसले सबै सहकारीलाई नियमन गर्ने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.