बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्

काठमाडौं । सरकारले बजेट कार्यान्वयन प्रभावकारी रुपमा भइरहेको दाबी गरे पनि अहिले पनि कार्यान्वयनमा गम्भीर समस्या रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययनअनुसार निजीक्षेत्रसँग संवद्ध बजेटमा समावेश मुख्य ६३ वटा बुँदामध्ये २७ प्रतिशत कार्यान्वयन नै नगएको पाइएको हो । गत आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदामध्ये १६ वटा बुँदा अर्थात् २५.४ प्रतिशत पूर्णकार्यान्वयनमा आएको पाइएको छ । 

३० वटा अर्थात् ४७.६ प्रतिशत बुँदा आंशिक कार्यान्वयन भएको र १७ वटा अर्थात् २७ प्रतिशत बुँदामा कुनै प्रगति नभएको पाइएको हो । उद्योग परिसंघकाअनुसार औद्योगिक विकासका १४ बुँदामध्ये ४ को कार्यान्वयन अवस्था शुन्य रहेको अध्ययनले देखाएको छ । 

त्यस्तै ७ बुँदाको आंशिक कार्यान्वयन र ३ बुँदाको मात्रै पूर्णकार्य रहेको छ । कृषि क्षेत्र रूपान्तरणसँग सम्बन्धित बजेटका ९ मध्ये २ बुँदाको कार्यान्वयन शुन्य र २ बुँदाको कार्यान्वयन पूर्णरूपमा हुन सकेको देखिन्छ । ५ बुँदामा भने आंशिक कार्यान्वयन भएको देखिन्छ ।

स्टार्टअप र नवप्रवर्तनका दुई घोषणामध्ये एउटा पूर्ण कार्यान्वयनमा आएको र अर्को कार्यान्वयनको चरणमा रहेको, सीप तथा उधमशीलताका ४ बुँदामध्ये एउटामा कुनै प्रगति हुन नसकेको र ३ बुँदा कार्यान्वयनको चरणमा रहेको देखिएको छ । त्यस्तै निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणको एउटा बुँदा रहेको र त्यो कार्यान्वयनको चरणमा रहेको अध्ययनले देखाएको छ ।

कर प्रणालीसँग सम्बन्धित बजेटका ७ मध्ये १ बुँदाको कार्यान्वयन अवस्था शुन्य रहेको छ । ३ बुँदाको आंशिक र ३ बुँदा पूर्णकार्यान्वयनमा गएको हो । त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित बजेटका ७ मध्ये २ बुँदा कार्यान्वयनको अवस्था शुन्य रहेको छ ।

सार्वजनिक खरिद र आयोजना व्यवस्थापनका ३ बुँदा नै आंशिक कार्यान्वयनको अवस्थामा रहेका छन । मेक इन नेपालसँग सम्बन्धित एउटा बुँदा रहेको र त्यो पूर्ण कार्यान्वयन भएको अध्ययनले देखाएको छ । सार्वजनिक–निजी साझेदारीसँग सम्बन्धित २ मध्ये एउटाको कार्यान्वयन शुन्य र एउटाको आंशिक रहेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदामध्ये १७ वटा बुँदामा कुनै प्रगति नभएको भन्दै बजेट कार्यान्वयनका लागि सरकार एवं सम्बन्धित मन्त्रालयहरू कठोर बन्नैपर्ने बताउनु भयो ।

उहाँकाअनुसार समग्र अर्थतन्त्रको विकासका लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन अपरिहार्य छ । बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने बताउँदै उहाँले बजेटको सफल कार्यान्वयन अति आवश्यक रहेको बताउनु भयो । 

आगामी एक दशकमा देशको हालको ४४ अर्ब अमेरिकी डलरको अर्थतन्त्रलाई कम्तिमा एक सय अर्ब डलरको पुर्याउन आफूलाई समर्पित गर्ने लक्ष्य राखेको बताउँदै उहाँले यसका लागि दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यका साथ कानुनी एवं नीतिगत चुस्तता अनिवार्य रहेको बताउनु भयो ।

पाण्डेकाअनुसार ‘सय अर्ब डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धि’ हाम्रा लागि नयाँ सोच नहुन सक्छ तर यो महत्वाकांक्षा उद्योग परिसंघ स्वयंले आफ्नो स्थापनाकालदेखि नै सरकारलाई प्रदान गर्दै आइरहेको छ । तर यसलाई अब केवल चर्चाको विषयमा सिमित नगरेर परिणाममुखी बनाउन ठोस कार्ययोजनामा अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनु भयो । यसका लागि उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ जुनसुकै हिसावले अगाडि बढ्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

पाण्डेकाअनुसार सरकारले बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयगत नियमित रिपोर्टिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर त्यसलाई चुस्त बनाउँदै लैजानुपर्छ । चालु वर्षको बजेट कार्यान्वयनमा अझ उल्लेख्य सुधार भइ सुस्त अर्थतन्त्रमा इन्धन भर्ने र ‘सय अर्ब डलरको अर्थतन्त्र’ को लक्ष्य प्राप्तिका लागि बलियो प्रस्थान बिन्दु बन्ने उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले समृद्धि हासिलका लागि निजी क्षेत्रको सहकार्यमा अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार सरकारले अहिले उत्पादन, उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जनाको लक्ष्य राखेको छ । उद्यमशीलताको मार्फत त्यो लक्ष्य हासिल हुने बताउँदै उहाँले निजी क्षेत्र र सरकार दुवै त्यस लक्ष्यतर्फ अघि बढ्नुपर्छ ।

कानूनहरु निजी क्षेत्रमैत्री बनाइने बताउँदै उहाँले सरकारले निरन्तर बाधक रहेका कानूहरुलाई संशोधन गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार क्षेत्रमा शतप्रतिशत निजी क्षेत्र संलग्न रहेको बताउनु भयो । 

अन्य देशमा विभिन्न सरकारी कम्पनीहरु हुने गरेको बताउँदै उहाँले नेपालको पूर्वाधार निजी क्षेत्रले मात्रै बनाइरहेको उहाँको भनाइ छ । उर्जामा निजी क्षेत्रले थ्रुपै काम गरेपनि पूर्वाधारको क्षेत्रमा सोचेअनुसारले निजी क्षेत्रले काम गर्न नसकेको उहाँको भनाइ छ ।

कार्यक्रममा वाणिज्य सचिव रामप्रसाद घिमिरेले व्यापार सहजिकरण तथा व्यवसायीक लागत घटाउनका लागि काम भइरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार रसुवागडी पोर्ट बाढीले बगाएपनि यही वर्ष दोधारा चाँदनी यसै वर्ष शिलान्याश गर्ने तयारी रहेको बताउनु भयो । उहाँकाअनुसार विराटनगरको पोर्टको पनि स्तरन्नोती हुने चरणमा रहेको छ ।

उहाँले कानूनहरुको सन्दर्भमा सरकारले संसद्सम्म पुर्याउने गरेको बताउनु भयो । सांसद्हरुको भुमिका नीति निर्माण गर्ने रहेकाले उनीहरु कानून बनाउने सन्दर्भमा बढी जिम्मेवार रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.