काठमाडौं । आर्थिक शिथिलताले सुस्ताएको अटो मोबाइल क्षेत्रको व्यवसायमा सुधार देखिन थालेको छ ।
वर्षमा ९० अर्ब भन्दा बढी राजश्व सरकारलाई बुझाउँदै आएको अटो मोवाइल व्यवसायले प्रत्यक्ष र अप्रत्यक्ष गरी १२ लाख भन्दा बढीलाई रोजगारी दिएको छ । तर आयातमुखी सोच र सरकारको नीतिगत अस्पष्टताले अटो मोवाइल क्षेत्रले अपेक्षित फड्को मार्न भने सकेको छैन । बरू राष्ट्र बैंकको नयाँ नीतिले यात्रु बोक्ने विद्युतीय सवारी साधनको बिक्री नै प्रभावित हुन थालेको व्यवसायीको गुनासो छ ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा ७ दशलमव एक तीन प्रतिशतको योगदान अटोमोबाइल क्षेत्रको छ । १ खर्बभन्दा बढिको लगानी रहेको यो क्षेत्रमा ३२ सयभन्दा बढी सवारी आयात तथा वितरक छन् ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजार भन्दा बढीलाई रोजगारी दिइरहेको र वार्षीक ९० अर्ब बराबरको राजस्व सरकारलाई बुझाउँदै आएको अटो मोबाइल व्यवसायलाई सरकारले कर असुल्ने क्षेत्र जस्तै ठान्दा अपेक्षित उपलब्धी हुन नसकेको व्यवसायीको भनाइ छ ।
कोरोना महामारीसँगै ओरालो लागेको अटो मोबाइल व्यवसाय ५० देखि ८० प्रतिशतसम्म प्रभावित भएको थियो । त्यसपछिको आर्थिक शिथिलताले उठ्न नसकेको अटो मोबाइल व्यसाय पछिल्लो समय भने सुधारको बाटोमा देखिएको छ ।
गत वर्षको तुलनामा अहिले व्यक्तिगत प्रयोग हुने कार र दुई पांग्रे साधनको बिक्रीमा १२ प्रतिशले सुधार आएको छ । सार्वजनिक र अन्यठूला सवारी साधनमा ५ प्रतिशतले व्यापार बढेको व्यवसायी बताउँछन् ।
तर गत फागुनमा राष्ट्र बैंकले गरेको नयाा व्यवस्थाका कारण सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारी साधनको बिक्रीभने केही प्रभावित भएको छ । खासगरी शत प्रतिशतसम्मको बैंक कर्जालाई ६० प्रतिशतसम्मको सीमामा खुम्च्याइएपछि विद्युतीय सवारी साधनको बिक्री घटेको अटो व्यवसायीको गुनासो छ ।
नेपालमा करिब ५५ लाख सवारी साधनदर्ता छन् । सरकारले अहिले विदेशबाट आयातित कार जिप र भ्यानमा २ सय ५० देखि ३ सय ६० प्रतिशतसम्म र मोटरसाइकलमा १ सय ५ देखि ३ सय ७ प्रतिसम्म कर लगाइरहेको छ ।
जसका कारण दुई छिमेकी मुलुकको तुलनामा नेपालमा चार पाङग्रे चढ्नेले पाँचगुणा र दुई पाङ्ग्रे खरिद गर्नेले तीन गुणा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।
नेपालको अटो मोवाइल व्यवसाय आयातमुखी छ । व्यापारिको आयातमुखी सोच र सरकारको अस्थिर नीतिका कारण अटोमोबाइल क्षेत्रले रोजगारी सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउने तर्फ भने अपेक्षित योगदान गर्न सकेको छैन ।