बुङताङका एक सयभन्दा बढी किसान सुन्तला खेतीमा, वार्षिक ३० लाखसम्म आम्दानी

पुस १, २०८१ |राजकृष्ण श्रेष्ठ
बुङताङका एक सयभन्दा बढी किसान सुन्तला खेतीमा, वार्षिक ३० लाखसम्म आम्दानी

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका बुङताङमा साढे २ दशकअघि परीक्षणको रूपमा लगाइएको सुन्तला खेती अहिले किसानका लागि वरदान सावित भएको छ । गाउँमा जनशक्ति अभाव र धान तथा अन्नबालीका लागि प्रतिकूल बनेको पहाडी भेगमा फलफूल तथा सुन्तला खेती बढेसँगै बुङताङ र आसपासका किसानको दैनिकी र भूगोल फेरिएको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका-२ स्थित बुङताङका गरबहादुर तमाङले २०५७ सालमा आफ्नो जग्गामा परीक्षणका लागि २७ वटा सुन्तलाको बेर्ना रोप्नु भएको थियो । म्यागङको ८०० देखि १४०० मिटरको उचाइमा रहेको बुङताङको मौसम सुन्तला खेतीका लागि उपयुक्त थियो । जसका कारण गरबहादुरको बगैंचाबाट गाउँभरि सुन्तला खेतीको विस्तार भयो । पछिल्लो समय त यहाँका किसानको मुख्य आम्दानी नै सुन्तला खेती बनेको छ ।

बुङताङमा गरबहादुर तमाङको अगुवाइमा थालिएको फलफूल तथा सुन्तला खेतीले २०६५ सालदेखि व्यावसायिक रूप लिएको हो । अहिले यहाँ एक सयभन्दा बढी किसान व्यावसायिक सुन्तला खेतीमा तल्लीन छन् । सुन्तला खेतिबाट सम्पूर्ण खर्च कटाएर वार्षिक तीन लाखदेखि ३० लाख रुपैयाँसम्म आम्दानी लिन किसान सक्षम भएका छन् ।

विगतमा निर्वाहमुखी परम्परागत कृषि अन्तर्गत केही स्थानमा धान र कोदो जस्ता अन्नबाली हुने बुङताङका पाखापखेरो अहिले पहेंला सुन्तलाको दानाले लटरम्म ढाकिएका छन् । उत्पादन र बिक्रिको आधारमा यस वर्ष बुङताङमा सुन्तला खेतीबाट करिब दुई करोड रुपैयाँ गाउँ भित्रिने किसानहरूले आकलन गरेका छन् ।

बुङताङमा अहिले फल लागेका तथा नयाँ र पुराना गरी करिब ४२०० सुन्तलाको बोट बिरुवा हुर्किने र फैलिने क्रममा छ । प्रति रोपनी मुस्किलले दुई मुरी धान फल्ने भिरालो पाखोमा २० देखि २५ वटा सुन्तलाको बोट हुर्कने गरेको छ । यसले पनि किसानमा उत्साह थपेको छ । बुङताङबाट सुरू भएको सुन्तला खेती अहिले म्यागङको बर्सुञ्चेत, सामरी लगायत सबै वडामा फेलिंदै गएको छ ।


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement