सरकारले १५ प्रश्नको जवाफ मागेकै भोलिपल्ट विद्युत प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता तिर्न ताकेता

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले १५ प्रश्नको जवाफ मागेकै भोलिपल्ट विद्युत प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता तिर्न ताकेता

काठमाडौं । सरकारले १५ वटा प्रश्नको जवाफ मागेको भोलिपल्टै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुलाई पुनः डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न ताकेता गर्नुभएको छ । प्राधिकरणले आज सूचना निकाल्दै ४९ वटा उद्योगलाई कात्तिक ८ गतेभित्रै बक्यौता बुझाउन निर्देशन दिएको हो ।

सरकारले हिजो मात्र घिसिङलाई १५ दिनभित्रै जवाफ फर्काउन भन्दै १५ प्रश्न पठाएको छ । जसमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका प्रतिवेदन एवम् महसुल सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णय पनि माग गरिएको थियो ।

त्यो पत्र आएकै भोलिपल्ट प्राधिकरणले फेरि बक्यौता तिर्न सूचना जारी गरेको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएको उल्लेख गर्दै सूचनामा तोकिएको समयमा महसुल प्राप्त नभए कानूनबमोजिम असुल उपर गरिने जनाइएको छ। 

 समयमै महसुल नबुझाए प्राधिकरणले सर्वसाधारणको लाइन काटे पनि उद्योगीको भने सरकारको दबाबमा लाइन काट्दै फेरि रकम असुलबिना नै जोड्ने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.