भुइँस्याउ खेतीतर्फ फिदिमका किसान आकर्षित

पुस २४, २०८० |लक्ष्मी गौतम
भुइँस्याउ खेतीतर्फ फिदिमका किसान आकर्षित

फिदिम । पाँचथरको फिदिमका किसान भुइँस्याउ खेतीमा आकर्षित भएका छन् । नगरपालिकाले विभिन्न वडालाई भुइँस्याउको पकेट क्षेत्रको विकास गर्ने योजनाअनुरूप उत्पादन भएको स्याउ खरिद गरिदिने नीति ल्याएपछि किसान उत्साहित भएका छन् ।

एक वर्षअघि आफ्नी श्रीमती वडामा गठन भएको अर्ग्यानिक भुइँस्याउ उत्पादन महिला समूहमा आबद्व हुँदा फिदिम ३ का देउमान श्रेष्ठ त्यति खुसी थिएनन् । समूहमा आबद्ध भएपछि खेती प्रविधि र बजार पहिचानसम्बन्धी तालिम लिएर फर्किंदा उनकी श्रीमतीले भुइँस्याउको ६ किलो बिउ ल्याएर कोठेबारीमा रोपिन् ।

अहिले त्यो भुइँस्याउ एउटै बोटमा २० किलोभन्दा धेरै फलेको छ । फिदिमकै कञ्चनजंघा टी-स्टेटले नै स्याउ खरिद गरिदिने भएपछि देउमान अहिले खुसी छन् । ‘बिक्री भइदियो भने आगुमदेखि बारीभरि नै यसकै खेती गर्ने सोच बनाइरहेको छु,’ उनले भने ।

पाँच वर्ष अघिदेखि भुइँस्याउ लगाइरहेका फिदिम ३ कि शोभा र रोजी राईलाई अघिल्लो वर्षसम्म पनि यो बिक्री हुन्छ भन्ने थाहा नभएकाले खाएर उब्रेको फल गाईवस्तुलाई खुवाउँथे । कृषिलाई प्रोत्साहन दिने नीति लिएको फिदिम नगरपालिकाले प्रदेश सरकार र कञ्चनजंघा टी स्टेटसँगको साझेदारीमा नवप्रवर्तन परियोजना सुरु गरेसँगै भुइँस्याउ बिक्ने सुनिश्चित भएको छ ।

फिदिम नगरपालिका वडा नम्बर १, ३, ७, ८, १२ र १३ मा यसै वर्षदेखि नवप्रवर्तन परियोजना लागु भएको हो । १५ वटा समूहमा २ सय २५ जना महिला आबद्ध छन् । नगरपालिकाले परियोजनामार्फत समूहमा आबद्ध सबै किसानलाई प्रतिव्यक्ति साढे ६ किलोका दरले भुइँस्याउको बिउ वितरण गरेर खेतीका लागि प्रेरित गरेको छ ।

‘यसलाई अब मूल्य दिएर अघि बढाउनुपर्छ । कृषकले गरेको भुइँस्याउ खेतीलाई सहज बनाउने प्रयासमा छौं,’ फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले भने ।

भुइँस्याउ उत्पादनका लागि हावापानी अनुकूल भएकाले नगरपालिकाले चारवटा वडालाई पकेट क्षेत्र बनाएको छ । अर्ग्यानिक तरिकाले उत्पादित भुइँस्याउ अर्ग्यानिक प्रमाणीकरण गर्न किसान समूहलाई खरिदकर्ता कञ्चनजंघा टी-स्टेटले नै सहजीकरण गर्नेछ ।

‘हामी संकलन गर्छौं र यसलाई यहाँ ल्याएर प्रशोधन गर्छौं । त्यसपछि यसको बजारीकरण गरिन्छ,’ कञ्चनजंघा टी-स्टेट पाँचथरका प्रबन्ध निर्देशक नीरानन्द आचार्यले भने ।

कञ्चनजंघाले भुइँस्याउको जुस उत्पादन गर्छ । माटो सुहाउँदो रैथाने बाली प्रवर्द्धन हुँदा किसानको आय बढ्ने नगरपालिकाको विश्वास छ । 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।