काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको छ ।
सामाजिक सुरक्षा कोषले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा सार्वजनिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरे । सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लागिएको हो ।
श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिन्छ ।
कोषका अनुसार त्यसका लागि हरेक महिना २२ सय रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइनेछ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
२०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।