सीमान्तकृत मेचे जातिलाई चिनाउने उपन्यास 'माखाल'

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सीमान्तकृत मेचे जातिलाई चिनाउने उपन्यास 'माखाल'

काठमाडौं । पूर्वी नेपालमा रहेको सीमान्तकृत मेचे समुदायको भाषा, संस्कृति, रहनसहन, पहिचान र जीवन संघर्षको कथा समेटिएको उपन्यास 'माखाल' सार्वजनिक भएको छ । तेजप्रकाश श्रेष्ठले लेखेको उपन्यास माकालमा मेचे जातिले कसरी समाजमा आफ्नो अस्तित्व कायम राखेको छ भन्ने कुरालाई उजागर गरिएको छ ।

काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उपन्यास माकालबारे समीक्षा गर्दै ठाकुर शर्माले भन्नु भयो, 'यो अनुसन्धानात्मक उपन्यास हो । मेचे जातिको सांस्कृतिक, सामाजिक विषय यो उपन्यासले केलाएको छ ।'

शर्माले मेचे समाजलाई विधिमा बाँध्ने नेतृत्वकर्ता मानिने 'माखाल' को परम्पराले मेचे समुदायमा परापूर्वकालदेखि नै लोकतान्त्रि चरित्र रहेको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयमा कार्यरत रोशनी मेचेले आफ्नो लोपोन्मुख समुदायलाई उजागर गर्ने गरी उपन्यास माखाल लेखिएको भन्दै लेखकको प्रसंशा गर्नुभयो ।

'मेचे लोपोन्मुख समुदाय हो । २००७८ को जनगणनाले मेचे जातिको संख्या ५ हजार १ सय ९३ देखाएको छ,' रोशनी मेचेले भन्नु भयो, 'यो उपन्यासमा हाम्रा भाषा, संस्कृति, परम्परा छन् । पुस्तक पढ्दै गर्दा मैले आफैंलाई यो उपन्यासमा पाएँ । यो उपन्यास मात्र होइन मेचे समुदायको एउटा अनुसन्धान पनि हो, दस्तावेज पनि हो ।'

उहाँले आफ्नो समुदायलाई आफैंले कसरी शासन गर्ने भन्ने चलन नै माखाल भएको जनाउँदै माखालको जन्मदेखि मृत्युसम्मको संस्कारमा भूमिका रहने बताउनु भयो ।

'माखाल'का लेखक श्रेष्ठले आफूले झापामा मेचे समुदायको सामिप्यमा रहने अवसर पाएको र त्यही समुदायमै घुलमिल भएर उनीहरुका इतिहास, कथा, भाषा, संस्कार सबै कुरा समेटेर उपन्यास तयार पारेको जनाउनु भयो । मेचे समुदायको अस्तित्व र पहिचानका लागि उपन्यास माखालले थोरै भए पनि सहयोग पुग्नेछ भन्ने विश्वास लिएको लेखक श्रेष्ठले बताउनु भयो । पाठकलाई सहज होस् भनेर आफूले उपन्यासमा प्रयोग गरिएका मेचे भाषाको शब्द र अर्थसमेत राखेको उहाँको भनाइ छ ।

परिचय पब्लिकेसनले प्रकाशन गरेको उपन्यास माखालको मूल्य ३७५ रुपैयाँ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement