गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थपिँदै

कार्तिक २४, २०८१ |अमृता अनमोल
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थपिँदै

भैरहवा । बौद्ध धर्मवालम्बी देशका पर्यटक सिधै बुद्ध जन्मस्थल ल्याउने लक्ष्यसहित २०७१ माघ १ मा शिलन्यास गरी भैरहवामा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण थालिएको थियो । विभिन्न अवरोधका बीच २ वर्षअघि निर्माण सम्पन्न भयो । तर, नियमित व्यवसायिक उडान भएन । शनिबारदेखि बल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थालिएको छ ।

अन्तर्राष्ट्रिय व्यवसायिक उडानकै क्रममा दिउँसो करिब २ : ४० मा फ्लाई दुबई १ सय ५९ यात्रु बोकेर आयो । त्यसले १० यात्रु भैरहवा छोडेर अरु काठमाडौंको त्रिभुवन विमानस्थलमा लग्यो । शनिबार राति १० : ३० मा नेपाल एरलाइन्सले काठमाडौंबाट यात्रु बोकेर भैरहवा आउनेछ । त्यसले राति साढे ११ मा यात्रु बोकेर दुबईका लागि उडान भर्ने छ । अन्तर्राष्ट्रिय अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको थियो ।

दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । तर, यात्रु र व्यवस्थापनमा समस्या बताउँदै रोकेको थियो । नेपाल एयरलाइन्स र जजिरा एयरले पनि पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गरेको हो ।

गत कात्तिक १८ देखि थाइल्यान्डबाट थाई एयर एसियाको विमान कात्तिक २३ गते शुक्रबार मध्यान्ह दोस्रोपटक यहाँ अवतरण गरेको थियो । ७ यात्रु बोकेर आएको विमान यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । आउने साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुरु भएपछि रुपन्देहीका व्यवसायी खुसी भएका छन् । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement