मौसम खराबीका कारण पिक सिजनमा पनि खुम्बुमा पर्यटक आउन सकेनन्, दुई दिनदेखि लुक्लामा उडान प्रभावित

आश्विन २५, २०८१ |भानुभक्त निरौला
मौसम खराबीका कारण पिक सिजनमा पनि खुम्बुमा पर्यटक आउन सकेनन्, दुई दिनदेखि लुक्लामा उडान प्रभावित

सोलुखुम्बु । शरद ऋतुको मध्य सिजनमा मौसम बिग्रिएपछि खुम्बु क्षेत्रमा पर्यटक भित्रिन सकेका छैनन् । पर्यटक खुम्बु आउने एक मात्र विकल्प हवाई मार्ग भएको र मौसमी विमानस्थल भएका कारण पर्यटकहरू सगरमाथा क्षेत्र आउन नसकेका हुन् ।

बिहीबार पनि कुनै हवाइजहाज अवतरण नगरेको लुक्ला विमास्थलमा शुक्रबार पनि विहानैदेखि मौसम प्रतिकूल हुँदा एउटा पनि उडान हुन सकेन । दैनिक ४० भन्दा माथि उडान रद्द हुँदा दिनको ९ सय भन्दा बढी पर्यटक खुम्बु आउन वन्चित भएका छन् । बिहानैबाट विमानस्थल प्रवेश मार्ग बादलले ड्याम्मै ढाकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो पनि विभिन्न विमान कम्पनीहरुले मौसम खराबीकै कारण ४५ भन्दा बढी उडान रद्द गर्न बाध्य भएका थिए । यो साताका सुरुमा एकै दिन ५३ वटासम्म उडान हुँदा दैनिक १ हजारसम्म पर्यटक भित्रिए पछि उत्साहित बनेको सगरमाथा क्षेत्रको पर्यटन हिजो र आजको मौसमका कारण निराशामा परिणत भएको छ ।

अहिले रामेछापको मन्थलीबाट तीनवटा विमान कम्पनीहरुले ३० वटा भन्दा बढी उडान गर्छन् भने काठमाडौं विमानस्थलबाट औसत दैनिक १० वटा उडान गरेको छ । मौसमकै कारण विमान अवतरण गराउन सक्ने अवस्था नरहेको विमानस्थल प्रमुख उमेश पन्थीको भनाइ छ ।

बुधबार पनि मौसम खराबीका कारण १० वटा मात्रै उडान भएका थिए । अहिले तारा, समिट र सीता एयरले रामेछाप र काठमाडौंबाट लुक्लाका लागि उडान गर्दै आएका छन् । अहिले १२ वटा हेलिकोप्टरले दैनिक २ सयको संख्यामा मात्रै पर्यटकहरु ल्याइरहेका छन् ।

बाढी पहिरोका कारण सडक र पुलहरु बिग्रिएका कारण पर्यटकहरु स्थलमार्ग प्रयोग गरेर खुम्बु जान सक्ने अवस्था छैन ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement