काम गर्न नसक्ने कसैलाई पनि पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
काम गर्न नसक्ने कसैलाई पनि पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पर्यटनमन्त्री पाण्डेले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गर्नुभयो । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताउनु भयो । ‘हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन,’ उहाँले भन्नुभयो, ‘कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन ।’

विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि उहाँले बताउनु भयो । जीडीपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको पनि मन्त्रीको भनाइ छ । निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर पनि उहाँले गर्नुभयो । निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने मन्त्री पाण्डले बताउनु भयो ।

हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताउनु भयो । उहाँले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानुन बनाउन लाग्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement