नारायणीमा बाह्रैमहिना क्रुजसिप सञ्चालनको तयारी

पर्यटक आगमन बढ्ने स्थानीयको अपेक्षा
पुस १, २०८० |राजु चौधरी
नारायणीमा बाह्रैमहिना क्रुजसिप सञ्चालनको तयारी

चितवन । चितवनस्थित नारायणी नदीमा बाह्रै महिना क्रुजसिप सञ्चालनको तयारी गरिएको छ । गत असारदेखि बन्द रहेको क्रुजसिप केही दिनअघि सुरु भएसँगै वर्षायाममा पनि चलाउन मिल्ने गरी तयारी थालिएको हो ।

पर्यापर्यटनको केन्द्र चितवनमा थपिएको पर्यटकीय आकर्षण हो नारायणीमा चल्ने क्रुजसिप । निर्माण सम्पन्न भएको लामो समयपछि भरतपुरको काभ्रेघाट स्टेसनबाट गतवर्ष माघ १ गतेदेखि चल्न थालेको राइनो क्रुजसिप वर्षायाम नदीको सतह बढेपछि असारदेखि बन्द भयो । मंसिरको अन्त्यतिर फेरि सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसिप वर्षैभरि सञ्चालन गर्न गर्नेगरि तयारी अघि बढाइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका निर्देशक दीपक ढुंगेलले बताए ।

क्रुजसिप नियमित सञ्चालनमा आएसँगै दैनिक तीन 'सिफ्ट'मा यात्रुलाई सेवा प्रदान गरिएको छ । दिउँसो १, ३ र ५ बजे नारायणीमा क्रुजसिप चल्छ । आन्तरिक पर्यटकका लागि नौलो यो क्रुजसिप अहिले आकर्षणको केन्द्र बनेको छ । विद्यालयका विद्यार्थीलाई भ्रमणको क्रममा क्रुजसिपमा समेत ल्याउने गरिएको छ । क्रुजसिप चढ्न आउने यात्रु नयाँ अनुभव लिन पाएकोमा दंग पर्ने गरेका छन् ।

आन्तरिक पर्यटक आरती डंगोलले भनिन्, ‘पहिला यसबारे जानकारी थिएन । यही आएपछि थाहा पायौँ । सोचेको भन्दा धेरै नै फरक पायौँ । निक्कै रमाइलो अनुभव गर्न पाइयो ।’

एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने छन् । क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा छ । नियमित सेवासँगै 'इभेन्ट क्रुज' र 'डिनर क्रुज' पनि सञ्चालन गर्ने गरिएको छ । एकपटकमा एक सय ५० जनासम्मलाई 'क्रुजिङ'को सेवा दिन सकिने क्रुजसिपमा यात्रा गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क तोकिएको छ ।

दुई तल्ला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको छ भने दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता छ । क्रुजसिप सञ्चालनका लागि कम्पनीले देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।