ल्होत्से आरोहण : यस वर्ष सय जनाले लिए अनुमति

वैशाख २८, २०८१ |भरत रावल
ल्होत्से आरोहण : यस वर्ष सय जनाले लिए अनुमति

काठमाडौं । सगरमाथासँगै जोडिएका कारण ल्होत्से हिमाल पनि पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । तर, धेरैलाई थाहा छैन, सगरमाथाभन्दा ल्होत्से आरोहण गर्न सस्तो पनि छ ।

नेपालमा अवस्थित आठ हजार मिटरमाथिका नौवटा हिमालमध्ये ल्होत्से विश्वको चौथो र नेपालको तेस्रो अग्लो हिमाल हो ।

आठ हजार पाँच सय १६ मिटर अग्लो यो हिमाल सगरमाथाको पूर्वमा अवस्थित छ । स्विट्जरल्यान्डका नागरिक इनास्ट रेइसले सन् १९५६ मे १८ मा पहिलोपटक आरोहण गरेको यो हिमाल अहिलेसम्म एक हजार २१ जनाले चढिसकेका छन् ।

ल्होत्सेसँगै आठ हजार चार सय मिटरको ल्होत्सेसार र ८ हजार ४ सय १३ मिटरको मध्यल्होत्से पनि छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको चौथो आधार शिविरसम्मको बाटो एउटै छ । जसका कारण सगरमाथा आरोहण गर्ने अधिकांश ल्होत्सेको शिखरमा पनि पुग्ने गरेका छन् ।

एकैपटक आठ हजार मिटरमाथिका दुईवटा हिमाल आरोहण गर्न सकिने भएकाले पनि यो हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ । यस वर्ष अहिलेसम्म एक सय जनाले ल्होत्सेको अनुमति लिएका छन् ।

जसमा ७० जनाले सगरमाथाको पनि अनुमति लिएका छन् । ‘ल्होत्से आरोहण गर्न तुलनात्मक रुपमा सजिलो पनि मानिन्छ,’ पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले भन्नुभयो ।

सगरमाथाभन्दा ल्होत्से चढ्न सस्तो पनि छ । अहिले सगरमाथा आरोहण अनुमति लिन ११ हजार डलर लाग्छ भने ल्होत्सेको १८ सय डलर मात्र छ । पर्यटन विभागले गत वर्ष १७ टिमलाई अनुमति दिएकामा यस वर्ष १२ टिमलाई अनुमति दिएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

वैदेशिक मुद्रा आर्जनको एक प्रमुख स्रोत हिमालबाट यो सिजनमा सरकारले अहिलेसम्म ६७ करोड १४ लाख आर्जन गरेको छ । जसमा ल्होत्से आरोहण अनुमतिबाट तीन करोड राजस्व संकलन भएको छ । गत वर्ष हिमाल आरोहण अनुमतिबाट सरकारले एक अर्बभन्दा बढी आर्जन गरेको थियो ।

हेर्नुहोस् भरत रावलका थप स्टोरी


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।