
काठमाडौं । जय ट्रफी पुरूष एलिट कपमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।
नेपाल एपीएफ क्लबमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै पुलिसले पुनरागमन जित हासिल गरेको हो । कीर्तिपुरमा भएको खेलमा पुलिससँग पराजय भोगेसँगै एपीएफले पहिलो हार व्यहोरेको हो । आफ्नो पहिलो खेलमा बागमतीविरूद्ध ८ विकेटको सानदार जित हात पारेको एपीएफले दोस्रो खेलमा आएर विभागीय प्रतिद्वन्द्वी पुलिसविरूद्ध हार व्यहोर्यो ।
दुई दिनसम्म चलेको खेलमा पुलिसले बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । सोमबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ पहिलो इनिङसमा १ सय ८५ रनमा समेटिएको थियो। एपीएफका लागि सुमित महर्जनले ५५ र कप्तान रोहित पौडेलले ४५ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
पुलिसका ललित राजवंशी र सागर ढकालले घातक बलिङ गर्दै ४-४ विकेट लिएपछि एपीएफ सस्तोमै समेटिएको हो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले आफ्नो पहिलो इनिङमा २ सय ७७ रन बनाउँदै ७ विकेटको क्षतिमा इनिङ घोषणा गर्यो।
पुलिसका लागि शंकर राणाले अविजित १ सय ५ रनको शतकीय पारी खेले भने दिलसाद अलीले ५८ रन जोडे। ९२ रनको अग्रतासहित दोस्रो इनिङ सुरु गरेको एपीएफ क्लब २०४ रनमा अलआउट भयो। एपीएफका दीपक बोहोराले ९४ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई सङकटबाट बचाउन सकेनन्। ।
दोस्रो इनिङमा पुलिसका ललित राजवंशीले ५ विकेट लिँदै एपीएफको ब्याटिङ लाइनअप ध्वस्त पारे। जितका लागि १ सय १३ रनको सामान्य लक्ष्य पाएको पुलिसले मात्र १ विकेट गुमाएर १६ दशमलव ४ ओभरमै लक्ष्य पूरा गर्यो। पुलिसको जितमा कुशल भुर्तेलले ५३ बलमा ७१ रनको विस्फोटक अविजित पारी खेले।
दुवै इनिङ गरी कुल ९ विकेट लिएका ललित राजवंशी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै, मंगलबार नै समापन भएको जय ट्रफीको अर्को खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । भारी वर्षाका कारण खेल रद्द भएपछि दोस्रो खेल बराबरीमा सकिएको हो । यता, बराबरीसँगै बागमतीको प्रतियोगितामा पहिलो जितको खोजी जारी रह्यो ।