एसिया कप खेल्ने नेपाली टोली घोषणा

मंसिर २३, २०८२ |खेल ब्युरो
एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले एसीसी पुरूष एसिया कपका लागि नेपाली राष्ट्रिय अन्डर नाइन्टिन क्रिकेट टोलीको घोषणा गरेको छ। 

सार्वजनिक गरिएको १५ सदस्यीय टोलीको कप्तानी अशोक धामीले गर्ने भएका छन् भने निरज यादव उप-कप्तानको भूमिकामा रहनेछन्। घोषित टोलीमा बलिङ र ब्याटिङ विभागमा उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा खेलाडीलाई समावेश गरिएको छ। टोलीमा दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल रहेका छन्। 

टिममा अन्य खेलाडीहरूमा निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्। प्रिमियर कपको फाइनलमा नेपाली टिम यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। तर अहिले उक्त टिममा रहेका खेलाडीमा चार परिवर्तन गरिएको छ। 

एनपीएलमा सहभागी बनेका अभिषेक, साहिल, विपिन र युवराज थपिएका हुन्। यससँगै नेपाली टिम थप बलियो बनेको छ। डिसेम्बर १२ देखि यूएईमा हुने प्रतियोगिताको आफ्नो समूहमा नेपालसँग श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्नेछ। यसअघि मलेसियामा नै भएको प्रिमियर कपको फाइनलमा पुगेर नेपालले उमेर समूहको एसिया कपमा स्थान बनाएको थियो।