
काठमाडौं । च्याम्पियन्स लिगमा मंगलबार राति हुने ११ खेलमध्ये केन्द्रमा रहनेछ साविक उपविजेता इन्टर मिलान र लिभरपुलबीचको खेल।
मंगलबार राति पौने २ बजे सुरू हुने खेलका लागि लिभरपुल यसअघि नै इटालीको सान सिरो पुगिसकेको छ। सुरूआतको फर्ममा टिक्न नसकेको लिभपुरल पाँच खेलबाट नौ अंक बटुलेर १३औं स्थानमा संघर्ष गर्दैछ। यता, लिगको पाँचौ खेलमा पहिलो हार बेहोरेको इन्टरले घरेलु मैदानमा मंगलबार लिभरपुललाई दबाबपूर्ण परीक्षा लिनेछ।
टिम र व्यवस्थापन नै संकटग्रस्त बनेको लिभरपुललाई सान सिरोमा इन्टर मिलानसँगको कठिन भिडन्तले अघिको बाटो कस्तो हुनेछ भन्ने देखाउने छ। च्याम्पियन्स लिगमा लिभरपुलले रियाल मड्रिडलाई हराएर उत्कृष्ट फर्ममा रहेको देखाए पनि केही दिनमै पीएसभी इन्डहोभनसँगको ४-१ को लज्जास्पद हार बेहोर्यो।
सन् १९३० पछि लिभरपुल यो सिजन पहिलो पटक आफ्नै मैदानमा तीन खेलमा तीन गोलभन्दा धेरैको फरकमा पराजित भएको थियो। त्यसपछि लिभरपुल नौ अंकसहित शीर्ष-८ बाट तल खसेको छ। यसपटक लिभरपुल तीन खेलअघिदेखि अपराजित छ। तर वेस्टह्याममाथि २-० को जित अनि यो सिजन प्रिमियर लिगमा फर्किएको सन्डरल्यान्ड र लिड्ससँगको निराशाजनक बराबरीले उसको पुनरागमन गर्ने योजना नै सफल हुन्छ कि भन्ने शंका बढेको छ।
अहिले मिडफिल्डर सलाह र प्रशिक्षक स्लटको सम्बन्ध पनि बिग्रिएको छ। खेलाडीले प्रशिक्षक परिवर्तनको माग गर्दै आएको भए पनि व्यवस्थापनले यस कुरालाई अस्विकार गर्दै आएको छ। यसकारण लिभरपुलमा सलाहको भविष्य सुरक्षित छैन भन्ने देखिएको छ। उनी अहिले मिलान गएको स्क्वाडमा नै परेका छैनन्।
यसबीचमा कोडी गाक्पो, वाता एन्डो र फेडेरिको किएजाले पनि यो हप्ताको च्याम्पियन्स लिग खेल्ने छैनन्। त्यसैले लिभरपुल जुनसुकै हालतमा पनि पुनरागमनको तीव्र पर्खाइमा छ। यता इन्टर मिलान उत्कृष्ट लयमा छ। पछिल्लो खेलमा एट्लेटिको मड्रिडसँग ९० मिनेटमा २-१ ले पराजित भए पनि त्यो हारले संकटको संकेत दिएको छैन।
इन्टरले यसअघि हिरात, युनियन एसजी, स्लाभिया प्राग र आयाक्सलाई सहजै हराउँदै प्रतियोगितामा उत्कृष्ट लय कायम राखेको छ। ३६ टीमको तालिकामा इन्टर चौथो स्थानमा छ। उसको बायर्न, रियल मड्रिड र पीएसजीसँगै समान १२ अंक छ। शीर्षमा रहेको आर्सनलभन्दा मात्र तीन अंकले पछाडि रहेका कारण उ अहिले सीधै छनोटको पनि नजिकै छ।
घरेलु प्रतियोगितामासमेत इन्टर सानदार फर्ममा छ। पछिल्ला तीन खेलमा ११ गोल गरेको छ भने एक गोल मात्रै बेहोरेको छ। इन्टरका म्यानुअल अकान्जी अनफिट रहेकाले फ्रान्सेस्का एसर्बीले रक्षा लाइन सम्हाल्ने छन्। मत्तेओ डार्मियन र डेन्जेल डुम्फिज चोटका कारण टिमबाहिर छन्।
टोमस पालासियोस र गोलकिपर डी जेन्नारो पनि चोटको अवस्थामा भएकाले उसको टिमलाई सहज भने हुनेछैन । कप्तान लाउटारो मार्टिनेजले कोमोविरुद्ध ११औं गोल गरेर आफ्नो फर्म कायम रहेको संकेत दिएका छन्। उनले च्याम्पियन्स लिगका घरेलु पाँच खेलमा लगातार गोल गरेका छन्। उनको साथमा मार्कस थुराम आक्रमणमा रहनेछन्।