जर्मनीका राष्ट्रपतिद्वारा तल्लो संसद् विघटन

पुस १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
जर्मनीका राष्ट्रपतिद्वारा तल्लो संसद् विघटन

काठमाडौं । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले तल्लो सदन भंग गर्नुभएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन टुटेर सरकार ढलेपछि समय अघि नै संघीय चुनाव गराउने बाटो खोल्न राष्ट्रपति स्टेनमेयरले तल्लो सदन भंग गर्नुभएको हो ।

चान्सलर स्कोल्ज नेतृत्वको त्रिपक्षीय गठबन्धनले १६ डिसेम्बरमा संसद्‍मा विश्वास मत गुमाएको थियो । विश्वासको मत गुमाए पनि जर्मन संविधानअनुसार चान्सलरसँग संसद् भंग गर्ने अधिकार छैन । दोस्रो विश्वयुद्धपछिको संविधानले तल्लो सदन विघटन गर्ने र निर्वाचन गराउने वा नराउने निर्णयको अधिकार राष्ट्रपतिलाई प्रदान गरेको छ। राष्ट्रपतिले संसद् भंग गरेको ६० दिनभित्र संघीय चुनाव गराउनु पर्नेहुन्छ । जर्मनीमा अहिलेसम्म चार पटक संसद् भंग भई समय अगावै निर्वाचन हुने भएको छ ।

स्कोल्जले विश्वासको मत गुमाएपछि प्रमुख दलका नेताहरूले सेप्टेम्बरको निर्धारित समयभन्दा सात महिनाअघि अर्थात् फेब्रुअरी २३ मा निर्वाचन गराउने सहमति गरेका थिए । सोही आधारमा राष्ट्रपति स्टेनमेयरले फेब्रुअरी २३ मा चुनाव गराउन तल्लो सदन भंग गर्नुभएको हो । हाल स्कोल्जले अल्पमत सरकारको नेतृत्व गरिरहनुभएको छ ।

जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच चान्सलरले अर्थमन्त्री क्रिश्चियन लिन्डनरलाई बर्खास्त गर्नुभएको थियो । यो बर्खास्तीले गठबन्धनमा आवद्ध अर्थमन्त्रीको दल फ्रि डेमोक्र्याटले सरकार छाडेपछि त्यहाँ राजनीतिक उथलपुथल सुरू भएको छ ।

यसैबीच, हालैको सर्वेक्षणले स्कोल्जको पार्टी सोसल डेमोक्रेटिक अफ जर्मनलाई रूढीवादी विपक्षी युनियन ब्लकले पछि पारेको देखाएको छ ।



Enter Kantipur TV HD
Advertisement