काठमाडौं । फिफा महिला विश्वकप २०२७ र २०३१ अमेरिकामा नेटफ्लिक्समार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
विश्व फुटबलको नियामक निकाय फिफा र नेटफ्लिक्सले सम्झौतामा हस्ताक्षर गरेसँगै दुवै संस्करणको महिला विश्वकपको प्रसारण अधिकार नेटफ्लिक्सले पाएको हो ।
नेटफ्लिक्सले पूर्ण रूपमा महिला विश्वकप प्रसारणको अघिकार पाएको यो पहिलो पटक हो । अब अमेरिकामा रहेका फ्यानहरूले प्रत्येक खेल नेटफ्लिक्समा प्रत्यक्ष हेर्न सक्ने बताइएको छ । अमेरिकामा अंग्रेजी र स्पेनिसमा टेलिकास्ट गरिने प्रत्यक्ष प्रसारको सम्झौतामा उल्लेख छ ।
सन् २०२७ को महिला विश्वकप जुन २४ देखि जुलाई २५ सम्म ब्राजिलमा आयोजना हुनेछ । फिफा महिला विश्वकप पहिलो पटक दक्षिण अमेरिकामा आयोजना हुन लागेको हो ।
सन् २०३१ संस्करणको आयोजकको टुङ्गो भने लागिसकेको छैन । नेटफ्लिक्सले दुवै विश्वकपमा लाइभ कभरेजका साथै प्रतियोगिताको वृत्तचित्र श्रृंखला पनि उत्पादन गर्नेछ ।