काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिनिमेटरमा आज चितवन राइनोज र कर्णाली याक्स् प्रतिस्पर्धा गर्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजेबाट सुरू हुनेछ ।
दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका थिए । लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो । कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो । लिग चरणमा चितवन विरुद्ध कर्णाली विजयी भएको थियो । चितवन सो हारको बदला लिने योजनामा हुनेछ भने कर्णाली सोही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।
चितवनलाई १३० रनमा रोकेको कर्णालीले लक्ष्य पछ्याउँदा ४ विकेट गुमाएर १ बल बाँकी रहँदै जित हासिल गरेको थियो । उक्त खेलमा शिखर धवनले ४५ रनको योगदान दिएका थिए । तर धवन ४ खेल खेलेर स्वदेश फर्किसकेका छन् ।
चितवनले लिग चरणमा सुदूरपश्चिम र जनकपुर जस्ता बलिया टोलीलाई हराएको थियो । शरद भेषावकर सहित रवि बोपारा र सोहेल तन्विरको साथले कुशल मल्ललाई कप्तानी गर्न सहज भएको छ । चितवनका लागि ७ खेलमा २३३ रन बनाएका रवि बोपारा सर्वाधिक रन स्कोर गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । कुशल मल्लले १ अर्धशतक सहित २०२ रन बनाएका छन्, उनी सर्वाधिक रन बनाउनेमध्ये चौथोमा छन् ।
कर्णालीका विलियम बसिस्टोले ११८ र चाडविक वाल्टनले १२६ रन बनाएका छन् । चितवनका रिजन ढकालले १३ विकेट र सोहेल तन्विरले १२ विकेट लिएका छन् । फास्ट बलरको रूपमा यो जोडीले शानदार बलिङ गरेको छ । कर्णालीका आइकोनिक खेलाडी विपीन शर्माले ९ र बसिस्टोले ८ विकेट लिएका छन् ।
एलिमिनेटर खेल भएकाले पराजित हुने टोली आज प्रतियोगिताबाट बाहिरिने छ । विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्नो टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।