काठमाडौं । इङलिस प्रिमियर लिग क्लब लिभरपुलका पूर्व प्रशिक्षक योर्गन क्लोप रेड बुल फुटबलको ग्लोबल हेड नियुक्त भएका छन् ।
५७ वर्षीय जर्मन क्लोपले सन २०२५ को जनवरी एकदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । करिअरको २५ वर्ष साइडलाइनमा बिताएका क्लोपले, आफ्नो नयाँ भूमिकालाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
इनर्जी ड्रिङ्कस रेड बुलले बुन्डेसलिगा क्लब जर्मनीको लाइपजिग, अस्ट्रियन साल्जबर्ग, मेजर लिग सकर साइड न्युयोर्क र ब्राजिलको ब्रागान्तिनोको स्वामित्व लिएको छ ।
इङल्यान्डको च्याम्पियनसिप क्लब लिड्सको पनि अधिकतम शेयर रेड बुलको हो । रेडबुलका अनुसार क्लोप क्लबहरुको दैनिक कार्यमा संलग्न हुने छैनन् । तर उनले क्लबहरुलाई फुटवल फिलोसोपी, ट्रान्सफर रणनीति र कोचिङ विकासमा सल्लाह दिनेछन् ।
क्लोप विश्वकप फुटवलको एक उत्कृष्ट प्रशिक्षकका रुपमा परिचित छन् । यसै वर्ष लिभरपुल छाडेयता क्लोपले जिम्मेवारी सम्हालेको यो पहिलो हो । सन २०१५ मा बोरुसिया डर्टमन्डबाट लिभरपुल आएका क्लोपले लिभरपुललाई १९९० यता पहिलो प्रिमियर लिग उपाधि जिताएका थिए ।
उनको कार्यकालमा लिभरपुलले च्याम्पियन्स लिग, क्लब विश्वकप, एफए कप, लिग कप, सुपर कप र कम्युनिटी शिल्डको उपाधि पनि जितेको थियो ।