रंगशाला बनाउने रहर, तर छैन जग्गा पाउने टुंगो

भाद्र २१, २०८१ |प्रदीप लेखी
रंगशाला बनाउने रहर, तर छैन जग्गा पाउने टुंगो

काठमाडौं । प्रायः हरेक देशमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुईभन्दा बढी फुटबल मैदान हुन्छन् । तर नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पचासौं वर्षदेखि एक मात्र दशरथ रंगशालाको भर पर्नुपरेको छ । 

वैकल्पिक मैदान नहुँदा गत साउन २९ गते एएफसी च्यालेञ्ज लिगको प्ररम्भिक चरणको प्रतियोगितामा नेपालको चर्च ब्वाइज र भुटानको क्लव पारो एफसीबीचको खेल हिलाम्मे मैदानमा खेलाउनु पर्‍यो । जुन विषयलाई लिएर एन्फा निकै आलोचित बन्यो । अन्तर्राष्ट्रियस्तरको वैकल्पिक मैदान नहुँदा अन्डर-ट्वेन्टी साफ च्याम्पियनसीप र राष्ट्रिय महिला लिग पनि सातदोबाटोस्थित स्ट्रोटर्फ मैदानमा खेलाउनु परेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको दशरथ रंगशाला २०३२ सालमा निर्माण गरिएको हो । झन्डै ५० वर्षअघि निर्माण भएको यो रंगशालाले नेपाली फुटबलको साख धान्दै आएको छ । तर वर्षायाममा प्रतियोगिता हुँदा रंगशालाको पिच बिग्रने मात्र गरेको छैन, खेल्नै नमिल्ने गरी हिलाम्ये हुन्छ । 

गत साउन २९ गते एएफसी च्यालेञ्ज लिगको प्ररम्भिक चरणको प्रतियोगितामा चर्च ब्वाइज र पारो एफसीबीचको खेलका क्रममा खेलाडीहरु हिलाम्ये भएको फोटो र भिजुअल सामाजिक सञ्जालमा भाइरल हुँदा विश्वभरका फुटबलप्रेमीको ध्यान तानियो । यसले एन्फालाई मात्र होइन देशकै आलोचना भयो । हरेक खेलाडी र फुटबलप्रेमीको एउटा माग छ- दशरथ रंगशालाको विकल्प खोजौं ।

अहिले एन्फाले दशरथ रंगशालाको बैकल्पिक मैदान निर्माणका लागि सरकारसँग जग्गा मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट एन्फाले सकारात्मक जवाफ पनि पाएको छ । फिफा र एफसीको नियमअनुसार अन्तर्राष्ट्रि फुटबल रंगशालाका लागि घाँसे मैदान, कम्तीमा ३ हजार दर्शक क्षमताको प्यारापिट, कमेन्ट्री बक्स, मिडिया सेन्टरलगायतको व्यवस्था गर्नुपर्छ । छानोसहितको प्यारापिट नै चाहिन्छ भन्ने छैन । उमेर समूहका प्रतियोगिताका लागि एक हजार क्षमताको प्यारापिट भए पुग्छ । जुन पोखरा रंगशालामा छ ।

एन्फाले अहिलेसम्म चोभारको मल्ल पोखरी, कागेश्वरी मनहरा नगरपालिकाभित्रको पशुपति विकास कोषको जग्गा र सूर्यविनायक नगरपालिकाको पलाासे प्लटिङ छेउमा जग्गा हेरिसकेको छ । २५ देखि ४० हजार क्षमताका रंगशालासहित दुई वा चारवटा अभ्यास मैदान बनाउने योजना एन्फाको छ । त्यसका लागि झन्डै ६० रोपनी जग्गा चाहिन्छ । जग्गा उपलब्ध गराउन सरकारसमेत सकारात्मक छ ।

रंगशाला निर्माण सुरु गर्न एन्फाले पहिलो चरणका लागि २२ लाख अमेरिकी डलर छुट्याएको छ । यो रकम फिफाको डेभलपमेन्ट एन्ड इन्फ्रस्टक्चर फन्डबाट प्राप्त हुने छ । थप रकम सरकार र दाताहरुबाट प्राप्त हुने अपेक्षा एन्फाले गरेको छ । एन्फाले पाँच वर्षभित्रै बुटिक आकारको सुविधा सम्पन्न रंगशाला बनाउने लक्ष्य राखेको छ । जुन रंगशालामा डिजिटल स्कोर बोर्डदेखि फाइभस्टार रेस्टुरेन्टसम्मको सुविधा हुने छ । तर पहिलो चरणमा जग्गा प्राप्ति नै एन्फाका लागि चुनौती देखिएको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement