कांग्रेस : विशेष महाधिवेशन पक्षधरको तयारी तीव्र

पक्ष-विपक्षबीच अन्योल र विवाद चुलिँदै
पुस २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस : विशेष महाधिवेशन पक्षधरको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेको छ । 

यही पुस २७ र २८ गतेका लाग बोलाइएको विशेष महाधिवेशनका लागि प्रतिनिधि बोलाउनेदेखि उनीहरू बस्न होटल बुक गर्नेसम्मको दौडधूपमा नेताहरू लागेका छन् । तर तल्लो तहका नेता-कार्यकर्ता र प्रतिनिधिमा भने अन्योल छाएको छ । पार्टीमा बढ्दै गएको विवाद र अन्योल समाधानका लागि साेमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिहरूका लागि काठमाडौं सुन्धारा, ठमेल र एयरपोर्ट क्षेत्रका होटलहरूमा १५ सय कोठा बुकिङ् गरिएको जनाएका छन् । समग्र समन्वय गर्ने जिम्मेवारी अमरसिंह पुनलाई दिइएको छ । खाना र खाजाका लागि विभिन्न क्याटरिङसँग कोटेशनसमेत माग गरिसकिको छ ।

प्रतिनिधिहरूको आवास, खाना, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापनलगायतका कार्यका लागि उपसमिति समेत गठन गरिएको छ । सातै प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिलाई समन्वय गर्न प्रदेशगत रूपमा नेताहरू खटाइएको छ । यस्तै १ हजार स्वयम्सेवक परिचालन गरिने तयारी पनि छ ।

महाधिवेशनमा प्रस्तुत गर्ने एजेन्डा र दस्तावेज लेखनमा समेत नेताहरु जुटेका छन् । चुनावअघि विभिन्न दलसँग गरिने गठबन्धनले पार्टीलाई गरेको नोक्सानी र सरकारमा हुँदा काम गर्न नसकेको विषयलाई समेत समेट्ने नेताहरूले जनाएका छन् । जेन-जी आन्दोलन हुनुको कारण र त्यसलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा समेत धारणा बनाउने बताइएको छ । 

विशेष महाधिवेशनलाई केन्द्रीय समितिल नै अपनत्व लिनुपर्ने अपेक्षामा उनीहरु छन् । पार्टीमा विशेष महाधिवेशनको तयारी र नियमित महाधिवेशनको कार्यतालिकाले तल्लो तहमा भने अन्योल छाएको छ । यता संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिलाई रोक्ने रणनीति बनाएको छ ।

नेता शेखर कोइरालासमेत विवाद समाधानका लागि जुट्नु भएको छ भने सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.