काठमाडौं। नेपाली कांग्रेसमा विशेष अधिवेशनको माग तीव्र बनेको छ। पार्टीभित्र नेतृत्वको व्यापक परिवर्तनसहित नयाँ कार्ययोजना आवश्यक रहेको आवाज उठ्न थालेको छ।
यसै सन्दर्भमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले कांग्रेसलाई केबल नेतृत्व फेर्ने होइन, नयाँपनसहित जनमुखी दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ।
उहाँका अनुसार यदि साँच्चिकै विशेष अधिवेशन गर्ने हो भने सभापति मात्र होइन, शीर्ष नेता, महामन्त्रीदेखि लिएर सबै तहका पदाधिकारीले सामूहिक राजीनामा दिएर नयाँ महाधिवेशन कमिटी गठन गर्नुपर्ने हुन्छ। “केबल सभापति फेरेर पार्टीमा गहिरो परिवर्तन सम्भव हुँदैन। सामूहिक आत्ममूल्यांकन गरेर मात्र कांग्रेसलाई नयाँ जीवन दिन सकिन्छ,” ह्योल्मोले बताउनुभयाे।
जनताले अब व्यक्तिपरिवर्तन मात्र होइन, ठोस एजेन्डा र प्रत्यक्ष परिणाम खोजिरहेको बताउँदै उहाँले शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क बनाउनेजस्ता कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभयाे।
भविष्यमा नेतृत्व चयन अनुहार वा गुटगत समीकरणमा सीमित नभई एजेन्डा, दृष्टि र परिणाम दिन सक्ने क्षमतामा आधारित हुनुपर्ने उहाँको भनाइ छ। “जनतामाझ जसको एजेन्डा विश्वास जित्छ, उसैले पार्टीको नेतृत्व गर्ने प्रणाली अब स्थापित गर्नुपर्छ,” उहाँले भन्नुभयाे।
ह्योल्मोका अनुसार अबको कांग्रेसमा युवा नेतृत्व, अनुभवसम्पन्न वरिष्ठ, विद्यार्थी, बुद्धिजीवी तथा सबै धर्म-समुदायको प्रतिनिधित्व रहने संरचना निर्माण गर्न सकेमा मात्रै दीर्घकालीन सुधार सम्भव छ। उहाँले यस्तो नेतृत्वमार्फत कांग्रेसलाई जनमुखी र परिणाममुखी पार्टी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयाे ।