काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी फर्किन निषेध गरेको घटनापछि नेकपा एमालेमा नयाँ बहस सुरू भएको छ ।
पार्टीले तीन दशकदेखि मार्गदर्शक सिद्धान्त मानेको तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको विचार नै फेर्नुपर्ने बहस सुरू भएको हो । भण्डारीले प्रतिपादन गरेको र पाँचौं महाधिवेशनदेखि एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाएको जनताको बहुदलीय जनवादलाई परिवर्तन गर्ने बहस एमालेमा चलेको हो ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्किने घोषणा गरेदेखि नै जबजको विकल्पमाथि छलफल सुरू भएको हो । त्यसमा पनि एमालेको भ्रातृ संगठन बौद्धिक परिषद्को अनलाइन सर्वेक्षणपछि त जबज थप विवादमा परेको हो । अब अध्यक्ष केपी शर्मा ओलीले जबजका केही राम्रा पक्षलाई समेटेर नयाँ मार्गदर्शक सिद्धान्त अवलम्बन गर्ने तयारी गर्नुभएको छ ।
मदनको विचार विद्याको नेतृत्व भन्ने नारासहित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन खोजेदेखि नै जनताको बहुदलीय जनवादमाथि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बक्रदृष्टी परेको थियो ।
भण्डारीले जनताको बहुदलीय जनवाद तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेकाले यसलाई समृद्ध बनाउन आफू राजनीतिमा सक्रिय हुन लागेको बताएपछि नै विवाद बढी घनिभुत भएको हो ।
अझ पछिल्लो समयमा विद्यालाई पार्टीमा फर्कन पुर्ण निषेध गरेपछि यो विवाद तल्लो तहसम्मै पुग्यो । सदस्यता नवीकरण र पार्टी प्रवेशमा निधेष गरेर मात्रै विद्या नरोकिने देखेपछि ओली पक्षले उहाँले राजनीति गर्ने मैदान बनाउन खोज्नु भएको मदन भण्डारी फाउन्डेसन माथि नै निषेधको राजनीति सुरू गर्नुभएको हो ।
तर यसपछि पनि मदनको विचार पार्टीको मार्ग निर्देशक सिद्धान्त रहेको र मदन पत्नीको हैसियतले यसमा विद्याको पनि स्वामित्व रहेकाले उहाँलाई निषेध गर्न नहुने भन्दै तल्लो तहसम्म बहस सुरू भएपछि ओली पक्ष भदौ २० गतेदेखि सुरू हुने विधान महाधिवेशनमा पार्टीको विचार र मार्ग निर्देशक सिद्धान्त नै परिवर्तन गरेर अगाडी बढ्ने रणनीतिमा लागेको छ ।
विद्या फेरी सक्रिय राजनीतिमा आउने चर्चा नचल्दासम्म मदनको विचारको असली नेतृत्वकर्ता आफैं भएको भन्दै स्वामित्व लिन हानथाप गर्ने नेतृत्व विस्तारै यसको विपक्षमा उभिन थालेको छ।
अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधर नेताहरूबीच यसमा बहस चलिरहेको छ । पार्टीकै भ्रातृ संगठन बौद्धिक परिषद्ले त सर्वेक्षण नै गरिसकेको छ ।
यसको प्रतिवेदन सार्वजनिक नभएपनि आगामी विधान महाधिवेशनमा बहस भने हुने भएको छ । ओली पक्षले यसको काउन्टर रणनीति पनि तयार पारिरहेको छ । तर अहिले नै राजनीतिक प्रतिवेदनका विषय बाहिर आउँदा विवाद झन चर्किने भएकाले भित्र भित्रै तयारी चलिरहेको नेताहरूको सक्रियताबाट देखिन्छ ।
यद्यपि एमालेको प्रचार विभाग प्रमुखसमेत रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतम जबजलाई नै पुरै विस्थापित गर्ने कुनै तयारी नभएको दाबी गर्नुहुन्छ । तात्कालिन अवस्थामा कम्युनिष्ट पार्टीलाई बहुदलिय प्रतिस्पर्धामा उतार्न लिइएको सिद्धान्त जबजमा अब परिमार्जन आवश्यक भएको तर्क पनि छ ।
अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउन थालेकाले यसैलाई सार्थक पार्ने गरी जबजमा परिवर्तन गरेर नयाँ सिद्धान्त अबलम्बन गर्ने तयारी पनि छ ।
विद्या भण्डारी पक्षधर नेताहरू भने जबज नेपालको मौलिक सिद्धान्त भएकाले यो परिवर्तन गर्न बहस गर्नुको औचित्य नभएको बताइरहेका छन् । बरू उनीहरू भण्डारीलाई पार्टीमा भित्र्याउने वातावरण बनाउने र जबजलाई अझ विस्तृत बनाउने प्रयासमा छन् ।
यही साउन २७ र २८ गते धनकुटामा भएको कोशी प्रदेश कमिटीको बैठकमा नेताहरूले भण्डारीलाई एमालेमा प्रवेश गर्न दिनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन् ।
सचिवालय, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटीबाट एमालेले भण्डारीको सक्रिय राजनीतिको बाटोलाई बन्द गरिदिएको विषयलाई लिएर बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लिखितरुपमाा नोट अफ डिसेन्टका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय सचिवालयमा पत्र बुझाउन खोजे पनि स्वीकार नगरिएको श्रोत बताउँछ । उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले भने भण्डारीलाई पार्टी राजनीतिमा रोक्ने निर्णयलाई लिएर लिखित असन्तुष्टि जनाइ सकेका छन् ।
प्रचार विभाग प्रमुख गौतम पनि पार्टीका कतिपय बैठकमा भण्डारीलाई पार्टीमा स्वागत गर्नुपर्ने कुरा उठे पनि यो तर्कसंगत नभएको बताउनुहुन्छ । एमालेले भदौ १० गतेभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पार्टीको विधान संशोधन प्रस्तावमा सुझाव दिन प्रदेश, जिल्ला र स्थानीय कमिटीहरूमा छलफल चलाएको हो ।
यही बीचमा भण्डारी पक्षका नेताहरू पनि तत्कालिन महासचिव मदन भण्डारीको ७५औं हिरक जयन्ती कमिटीमार्फत् देशव्यापी समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी छन् । त्यसका लागि भदौ ५ गतेदेखि मदन भण्डारी फाउण्डेशनमार्फत विद्या समूह देशव्यापी अभियानमा निस्कने तयारीमा जुटेको छ ।
कुनैबेला पार्टीको मार्ग निर्देशक सिद्धान्तको स्वामित्व लिन हानथाप गर्ने अहिले विद्या राजनीतिकमा आउने चर्चासँगै सिद्धान्त परिमार्जनको कुरा गर्नुले आगामी विधान महाधिवेशनसम्ममा नेकपा एमाले राम्रैसँग ध्रुवीकृत हुने देखिन्छ ।