काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो । निवेदन दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको बताउनु भयो ।
भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरू, संवैधानिक अंगहरू कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी भएकाे उहाँले बताउनु भयो ।
०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरूसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको उहाँले बताउनु भयो । आफूहरूले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुनु नपरेको उहाँले उल्लेख गर्नुभयो ।
अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको उहाँकाे भनाइ छ। मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको उहाँले बताउनु भयो ।
अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानविनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेकाे बताउनुभयाे ।